वैशाख ४ गते २०८२
04:29: AM
वैशाख ४ गते २०८२
04:29: AM

नेपाली कांग्रेसको पुनर्जलीय उपचार

असाेज २८ गते २०८०
7:44 am
Author Avatar
फक्ताङलुङ दर्पण
गंगा पौडेल


साउन महिनाभरी हिन्दू धार्मिक पन्थको ‘बोलबम’ सिविर हुन्छ । शिव लिङ्गमा जल चढाउने यो मान्यताले ती धर्मालम्बीलाई कति अध्यात्मिक फाइदा हुँदै आएको छ तिनले जान्ने कुरा हो । यता संजोगवस कांग्रेस पार्टीको केन्द्रिय सिविर बैठक पनि साउन २ गतेबाट सुरु भएर १० गते तुरियो । कांग्रेसलाई पुनर्जलीय उपचार गर्ने ठानिएको यो बैठक पनि बोलबम सिविरभन्दा फरक देखिएन । हिन्दू धमाँलम्बीहरु साउन महिनाभर शिव लिङ्गमा जल चढाएर धार्मिक आत्मरतीमा रमाउँछन । तर आम कांग्रेसजनलाइ भने यसले आत्मरतीमा रमाउनसम्म दिएन । यसर्थ सिङ्गो कांग्रेस पङ्तीलाइ यो बैठकले पुनर्जलीय उपचार गरेको ठहरमा पुग्न त बिल्कुलै सकिन्न ।
कांग्रेस किन यस्तो भयो ? बैठकमा राजनयिक छलफल भएन । महामन्त्री गगन थापाको राजनैतिक कार्यक्रम या अर्का महामन्त्री विश्वप्रकाश शर्माको क्यालेण्डरको उपादेयताको अर्थ खुट्टिएन । महामन्त्रीद्वयको प्रस्ताब संस्थापन पक्षको नियमित र आधिकारिक नै हुन सकेन । यसले के देखायो भने सभापति एकातिर महामन्त्रीहरु अर्कै दिशातर्फ देखिए । यसैले गगन थापाले बैठकमा १३ बुँदे फरक मत दर्ता गरे । पार्टीको मूख्य नेतृत्वमा देखिएको यो बेमेलले कांग्रेसलाई एकमना दौडमा लाने देखिन्न । बैठकपछि कांग्रेसको आधिकारिक निर्णयको रुपमा आएको १८ बुँदे प्रस्तावले पार्टीलाई पक्षघात हुनबाट जोगाउँछ जोगाउन्न आए दिन थाहा लाग्ने नै छ । तर राष्ट्रिय राजनीतिलाई उत्तेजनामा ल्याउने यी सूत्र पनि देखिन्न ।
कांग्रेसको उपादेयता ः
राणा शासन, पञ्चायत र पछिल्लो पटक राजा ज्ञानेन्द्रको निरंकुश शासनको अन्त्य र लोकतान्त्रिक बहुदलीय संसदीय व्यवस्थाको स्थापनासंगै कांग्रेसको उपादेयता र औचित्य पुस्टी भैसकेको छ । उपर्युक्त व्यवस्थाको स्थापना कांग्रेस पार्टीको अधिकतम लक्ष वा कार्यक्रम हो । कांग्रेसको रणनैतिक लक्ष पुरा भयो । कांग्रेसको यो रणनैतिक उत्कर्षसंगै कार्यनैतिक पतनको सुरुवात हो । रणनीतिक लक्षको उत्कर्षमा पुगेपछि झर्नुको विकल्प रहने छैन । कांग्रेस आरोहण सकिएर अवतरणको यात्रामा छ ।
कांग्रेसलाइ अहिलेसम्म जोगाएको उसले प्रतिनिधित्व गर्ने वर्गीय आधार हो । तर यो वर्गीय आधार खण्डित हुने क्रममा छ । दक्षिणपन्थ, आर्थिक उदारिकरणमा आधारित अर्थ–राजनीतिले यो वर्ग तितर–वितर हुँदैछ । राप्रपाको पुनरोदय, रास्वपाको नयाँ उदयले कांग्रेसलाई राजनैतिक रुपमा ‘बोन्साइ’ गर्दैछ । कांग्रेसको गढ यसै पटक यी दुइ पार्टीले भत्काएको यसैकारण हो । कांग्रेसको काखमा बसेर घण्टी बजाउने कार्यकर्ताको नाम नै यसकारण ‘घण्टी कांग्रेस’ रहन गयो । एक हदसम्म एमालेको भोट बैंक पनि यहि वर्गतर्फ सरेको छ ।
कांग्रेसको चार ‘सी’
कांग्रेसी नेता मधु आचार्यले एसी (अजेण्डा कांग्रेस), विसी (वेस कांग्रेस), सीसी (क्लीन कांग्रेस) र डिसी (डिजिटल कांग्रेस)को अवधारणा अघि सारेका थिए । तर, उनको चार सी कार्यक्रम बैठकमा मनोरञ्जनपूर्ण तूरुप हुन गयो । कतै फरक रामरमिता देखाउनकै लागि भनिएको जस्तो बैठकमा उनको प्रस्तावले कावा खायो । उनले पनि प्रस्तावको व्याख्या त गरेनन् नै आमसञ्चारका माध्यमले पनि समाचारीय भाउ दिएनन् ।
चुनावी संग्राम र परिणाममा निरुत्साहित हुँदै गएको कांग्रेसका लागि आचार्यका चार ‘सी’ रामबाण हुन नसके पनि फिलहाल पुनर्जलीय उपचार हुन सक्थ्यो की ? एसी, एजेण्डामा कांग्रेस आउने मेलो हुने थियो की ? विसी, कांग्रेसको बेस वा जग ‘रेट्रो फिटिङ’ गर्ने उपाय सुझ्थ्यो की ? सिसी, क्लिन वा स्वच्छ कांग्रेस बनाउने आचारसंहिता निर्माण गर्ने वातावरण बन्थ्यो की ? डिसी, कांग्रेसीलाई ‘डिजिटिलाईट’ बनाउने कार्यक्रम बन्थ्यो की ? फिलहाल त यति नै गर्दा पनि कांग्रेस जम्न सक्थ्यो होला । तर, बैठकले यी विषयमा तातो कान लाएन । बैठक कर्मकाण्डी रफ्तारमा दौडियो ।
प्रतक्ष प्रशारणको रौनक ः
नेपाली कांग्रेसको बैठकको रौनक संस्थापन पक्षलाइ प्रतक्ष प्रशारणले दियो । लोकतान्त्रिक हुनुको भावबाट आयोजित प्रशारणको अर्को पाटो भने निराशाजनक भयो । केन्द्रिय सदस्यहरु जुन उत्साहकासाथ बैठकमा कुरा राख्न उपस्थित थिए, तिनका उत्साह प्रतक्ष प्रशारणले यहिँनेर विस्थापित भयो । एकाएक प्रतक्ष प्रशारणले कांग्रेसी जनमा सन्नाटा छायो । सबैले आफैलाई ‘सेल्फसेन्सरसिप’ लगाए । सभापति शेरबहादुरको रक्षाकवचमा उभिनेहरुको लागि सुवर्ण मौका मिल्यो । तीनले भारदारी भाकामा सभापतिका क्रियाकलाप रफु मास्टरले कुरा रफु गरेजस्तै देउपाको महिमामण्डन गरे । डा.शेखर कोइरालासहीतका नेताले तौलीतौली बोल्नु पर्ने बाध्यता आइ लाग्यो । महामन्त्री विश्वप्रकाश शर्मा प्रतक्ष प्रशारण प्रकरणमा परेर पुरै निरिह बने । गुरुराज घिमिरे एक जनाले मात्र बगावत भाकामा टिप्पणी गरे, ‘यो भारदारी सभा हो ।’
रहलपहल ः
नेपाली कांग्रेसको चारतारे झण्डा राष्ट्रियता, लोकतन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताको सूचक हो । तर कांग्रेस झण्डाको यी संकेतभन्दा धेरै पर पुगिसकेको छ । कांग्रेसको राष्ट्रियतामा प्रश्नैप्रश्न छन् । राष्ट्रियताको वैज्ञानिक व्याख्या गर्ने हो भने कांग्रेसको साइनोसम्म छोडपत्र भैसकेको छ । लोकतन्त्रप्रति कांग्रेसको अमूर्त विश्वास होला । तर संसदीय व्यवस्थाभन्दा वरपरको लोकतन्त्रसंग कांग्रेसको साइनो हराइ सकेको छ । पार्टी स्वतन्त्रता हुनु नै कांग्रेसको लोकतन्त्रको अर्थ हो । जनताहरुको राजनैतिक स्वतन्त्रताको अर्थमा कांग्रेसी लोकतन्त्र छैन । समाजवाद त कांग्रेसी ठैलीका किताबका भाण्टा सरहमात्र हुन । डा. प्रकाशचन्द्र लोहनीले सुरु गरेको आर्थिक उदारीकरणको पुँजीवादी व्यवस्थालाई संस्थागत गर्ने कांग्रेसी अर्थमन्त्री डा. रामशरण महत हुन । कांग्रेसी अर्थमन्त्रीकै कारण यतिखेर दलाल पुँजीवादको एक पन्थ आसेपासे पुँजीवादले घर गरेको छ । कांग्रेसमा समाजवादको भाष्य केलाउने एकमात्र प्रदीप गिरी थिए । उनको मृत्युपछि कांग्रेसमा समाजवाद उच्चारण गर्नेसम्म मनुवा पनि छैनन् । धार्मिक स्वतन्त्रताभन्दा धेरै कांग्रेसीहरुलाई हिन्दू धर्म सापेक्ष प्रिय छ । धार्मिक स्वतन्त्रताभन्दा धेरै दक्षिण दिशामा हान्निएका छन् कांग्रेस जन ।
कांग्रेसको परम्परागत राजनैतिक आवरणभन्दा पछि हटेको कांग्रेसले अर्को केन्द्रिय बैठक, महासमिति, नीति अधिवेसन जे गरेपनि दोहरिने नियति यहि हो । कांग्रेसमा पुनर्जलीय उपचार यसरी हुन्न । राजनैतिक रुपले पक्षघातको सिकार हुँदै गरेको कांग्रेसमा ठूलै शल्यक्रियाको खाँचो छ । तर कांग्रेसभित्र शल्य चिकित्सक अलगथलग हुँदैछन ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo