वैशाख ४ गते २०८२
04:56: AM
वैशाख ४ गते २०८२
04:56: AM

याङवरकमा चौरीपालकलाई सोलार बत्ती वितरण

मंसिर १० गते २०८१
7:08 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सुवास राई समिप/पाँचथर

रेडपाण्डा नेटवर्क र दीप ज्योति युवा क्लब पाँचथरले पाँचथरको याङवरक गाउँपालिका वडा नं. १ र २ का चौरीपालक कृषकहरूलाई सोलार बत्ती वितरण गरेका छन्।

आइतबार वडा नं. १ को वडा कार्यालयमा आयोजित कार्यक्रममा १५ चौरी गोठलाई ५० वाटका सोलार बत्ती प्रदान गरिएको हो। दीप ज्योति युवा क्लबका लेखा सन्त चाम्लिङका अनुसार, सोलार बत्तीले गोठहरूमा उज्यालो पुर्‍याएर कृषकहरूको दैनिकी सहज बनाउन सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।

करीब ४ हजार मिटर उचाइमा रहेका यी चौरी गोठहरूले हरेक वर्ष तीनपटक स्थानान्तरण गर्नुपर्ने हुँदा कठिनाइ भोग्दै आएका छन्। जाडोमा हिमपातका कारण तल्लो क्षेत्रमा चौरी सार्नुपर्ने र वर्षामा तिम्बुङ पोखरी, घुमाउने, पाडे मेघु र डुर जस्ता उच्च स्थानमा लैजानुपर्ने व्यवसायी लोकेन्द्र राईले बताए। उनले चौरीपालनलाई व्यवस्थित बनाउन सरकारको थप सहयोग आवश्यक रहेकोमा जोड दिए।

चौरीपालन पर्यटनको आकर्षणसँग जोडिएको हुँदा यसलाई जोगाउन व्यवसायीहरूको माग रहेको छ। पूर्व याक महासंघका उपाध्यक्ष चन्द्रलाल नेपालले चौरी गोठहरूले सीमा सुरक्षा र पर्यटकीय आकर्षण दुवैमा योगदान गर्ने भएकाले यसको संरक्षण अपरिहार्य रहेको धारणा व्यक्त गरे।

चौरीपालनबाट दूध, घिउ, छुर्पी उत्पादन गर्दै जीविकोपार्जन गर्ने परम्परा रहेको छ। तर, पछिल्लो तीन दशकमा चौरी गोठको संख्या २५ प्रतिशतले घटेको व्यवसायी गर्जमान गुरुङले बताए। युवाहरू विदेश पलायन र तराईतिर सर्ने प्रवृत्तिका कारण यो परम्परा संकटमा परेको उनले उल्लेख गरे।

सोलार बत्ती वितरण कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष राजेन्द्र खालिङ र वडा नं. २ का वडाध्यक्ष दिउकुमार योङ्हाङले चौरीपालनलाई संरक्षण गर्दै अनुदान प्याकेज उपलब्ध गराउने प्रतिवद्धता जनाए।

रेडपाण्डा नेटवर्कले यस क्षेत्रका दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणमा समेत काम गर्दै आएको छ। संस्थाले स्थानीय विद्यालयहरूमा रेडपाण्डासम्बन्धी पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको संस्थाका कार्यकारी निर्देशक सुनिल बान्तावाले जानकारी दिए।

यसअघि फालेलुङका चौरीपालक कृषकहरूलाई चुलो वितरण गरेको रेडपाण्डा नेटवर्कले आगामी दिनमा सीमा सुरक्षामा संलग्न सशस्त्र प्रहरीलाई पनि चुलो वितरण गर्ने योजना बनाएको छ।

चौरीपालनजस्तो महत्वपूर्ण परम्परागत व्यवसायलाई जोगाउन, कृषकहरूको जीवनस्तर सुधार गर्न र उच्च पहाडी क्षेत्रको विकासका लागि स्थानीय सरकार र संस्थाहरूको थप प्रयास आवश्यक देखिन्छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo