ताप्लेजुङ, घनघोर जङ्गलमा वर्षौँदेखि व्यवसायिक चौँरी पालन गरिरहेका मिक्वाखोला गाउँपालिका—५ का ४६ वर्षीय मिलन दोर्जे शेर्पा । न मानव बस्ती, न सडक, न विजुली, न सञ्चारको पहुँच । अनकन्टार जङ्गलको बीचमा एकोहोरो भोटे कुकुर भुकेको आवाज मात्रै सुनिन्छ । चकमन्न जङ्गलको बीचमा छाप्रो अनि सँगै फैलिएको विशाल चौँरीखर्क । कलकल सुसाइरहेको हिमाली खोल्सो । चाँदी जस्तै टल्किने हिमालका चुचुराहरु नियाल्दै शेर्पाको दिनहरु वितिहरेको छ ।
शेर्पको पुर्खौली पेशा याक पालन हो । तर दोर्जे केहि समय पुर्खौली पेशालाई छोडेर होटल व्यसायमा लाग्नुभयो । उहाँले संखुवासभा जिल्ला र काठमाडौं गरि १३ वर्ष होटल सञ्चालन गर्नुभयो । होटल व्यवासय गर्दा आफ्नो पुर्खाहरुले गरेको चौंरी याक गोठ सम्झाना आइरहन्थो । अत्यमा दोर्जेले होटल विक्री गरेर पुर्खौली पेशामै फर्कीनुभयो । शेर्पासंग अहिले तोक्पेगोला क्षेत्रमा २५० भन्दा बढी याक छन् । चार वर्ष अगाडी एउटा याक ७० हजार देखि एक लाख ४० हजार रुपैयाँ सम्ममा चीनमा निर्यात हुन्थो । तर अहिले कोभिड—१९ का कारणले टिप्ताला नाका बन्द भएसंगै चौंरी याक विक्री ठप्प भएको छ । चीनीयाँ बजारमा राम्रो मुल्यमा चौंरी याक निर्यात हुने देखेपछि होटल व्यवसाय छोडेर याक पालन लागेका शेर्पा अहिले निराशामा हुनुहुन्छ । उहाँले भन्नुभयो“होटल बेचेर यहाँ आइयो । गोठ विस्तार गरे । तर नाका नखुल्दा याक विक्री हुन छोड्यो ।
फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका तेन्जिङ शेर्पा याक–चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो । समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइको मौवाटारमा उहाँको गोठ छ । छोराछोरीलाई अंशका रुपमा चौँरी बाँडेर पनि उहाँसँग अहिले ४० वटा छन् । १२ दुहुना छन् । बिहान उठ्ने बित्तिकै एक गिलास दूध चिया लिए पछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ ।
याक चौँरीहरुलाई चरन क्षेत्रमा पुर्याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्फी बनाउँदासम्ममा घाम क्षितिजपारी पुगिसक्छ । साँझ परेपछि छरिएका चौँरी र याकलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म जुन उदाइसक्छ । विगत याक र याकका बाछा विक्रीबाट राम्रो आम्दानी हुन्र्थो । याक बिक्री नहुदा आम्दानी पनी छैन् । अहिले याकलाई नुन खुवाउँन समेत मुस्किल भएको शेर्पाले बताउनुभयो । मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रका तेन्जिङ नुपु शेर्पा अहिले याक गोठमा चौंरी याक स्र्यानमा व्यस्त हुनुहुन्छ । शेर्पाले पनि विगत चार वष देखि याक बिक्री गर्न सक्नुभएको छैन ।
मौवटारमा चार, सिंजेमा पोखोरी क्षेत्रमा दुई, र याङमा क्षेत्रमा नौ वटा याकको घुम्ती गोठ छ । मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्रमा ३५ गोठ मध्ये १७ वटा घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिकाका पशु शाखाका पशु प्रविधिक महेन्द्र अधिकारीले बताउनुभयो ।
ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छन् । हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुदै आएको छ । दैनिक चौँरी याक चराउँदैमा उउहाँहरूको दिन बित्नेगर्छ । यहाँका चौंरी याकहरुको मुख्य बजार चीन हो । चीनमा राम्रो बजार मुल्यमा बिक्री हुने भएकाले हिमाली क्षेत्रका समुदायहरु चौंरी याक पालन प्रति आर्कषित हुने गर्दछ । तर कोभिड—१९ का कारणले गर्दा बन्द भएको टिप्ताला नाका चार वर्षमा परि नखुल्दा चौंरी याक पालकहरु चिन्तित बनेका छन् ।
टिप्ताला नाका खुलाउने पहल जारी
कोभिड—१९ कारण चार वर्ष यता बन्द रहेको तिप्ताला नाका खुलाउँने तयारी भइरहेको छ । दुई देशका स्थानीय पदाधिकारीबीच अनौपचारिक भेटघाट गर्दै नाका खुलाउने विषयमा छलफल हुदै आएका हो ।
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँग नागका खुलाउँने विषयमा निरन्तर छलफल भइरहेको छ । गत मंगलबार नेपालको तर्फबाट ताप्लेजुङका फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष रवीन साम्रा लिम्बूसहितका पदाधिकारी तथा राजनीतिक नेतृत्व र तिब्बतका पदाधिकारीबीच अनौपचारिक भेट गर्दै टिपताला नाका खुलाउनेबारे छलफल भएको छ । तिब्बतका तर्फबाट दिङ्जे काउन्टी जिल्लाका डीएसपी दावा छिरिङ लामा, इमिग्रेसन पुलिस अफिसर टासी थुन्डुक, रिउ शहरको टेन्डाङ उपप्रमुख लोप्साङ फिन्जोक र पुलिस अफिसर गुरु छलफलमा सहभागी हुनुभएको थियो ।
फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन वालुङको समन्वयमा नाका खुलाउने विषयमा मंगलबार अनौपचारिक छलफल भएको हो । छलफलमा नेपालका तर्फबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुडाक्षेत्री, वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा, नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, सचिव युकहाङबीर हाङ्गाम सहभागी हुनुहुन्थ्यो ।
दुई देशका स्थानीय पदाधिकारीबीचको भेटमा टिपताला नाका तत्काल खुलाउन पहल गर्ने, दुई पक्षीय व्यापार तथा पर्यटकीय विकास गर्ने विषयमा छलफल भएको छ । छलफलका क्रममा नाका खुलाउन, व्यापार तथा पर्यटन विकास गर्न र टिपतालादेखि ओलाङ्चुङगोलासम्म सडक कालोपत्रेका लागि सहयोग गर्न चीन सरकार इच्छुक रहेको तिब्बतका तर्फबाट सहभागी स्थानीय पदाधिकारीले उल्लेख गर्नुभएको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष अध्यक्ष राजन लिम्बूले बताउनुभयो ।
कोरोना महामारीपछि बन्द भएको टिपताला नाका हालसम्म पनि नखुलेका कारण करिब चार वर्षयता दुई देशबीच हुँदैआएको सीमा व्यापार ठप्प भएको छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
