कञ्चनजंघा आउँने पर्यटकलाई अक्सिजन सिलिन्डरको व्यवस्था
Phaktanglung Darpan
कार्तिक १५ गते २०८०
12:46 pm
फक्ताङलुङ दर्पण
ताप्लेजुङः ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकलाई पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ । कञ्चनजंघा क्षेत्रका पर्यटकीय गन्तव्यको भ्रमणमा आउने पर्यटकका लागि फक्ताङलुङ गाउँपालिकाले पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था गरेको हो । दसैँ तिहारको समयमा कञ्चनजंघा क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी पोर्टेबल अक्सिजन सिलिन्डर र औषधिको व्यवस्था गरिएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताउनुभयो । लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरहरू केबीसी, लोनाक, खम्बाचेन, घुन्सा, सेलेले साथै उच्च हिमाली बस्ती ओलाङ्चङगोला र याङ्मामा उक्त व्यवस्था गरिएको छ उच्च क्षेत्रमा अक्सिजनको कमी हुने भएकाले पर्यटकलाई लेक लाग्ने (हाइ अल्टिच्युड) जोखिम बढी हुँदा सो समस्याबाट बच्नलाई पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था गरिएको फक्ताङलुङ गाउँपाउपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले सो व्यवस्था गरेसँगै कञ्चनजङ्घा क्षेत्रका भ्रमणमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई राहत पुगेको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ । उहाँकाअनुसार आवश्यक परेमा वा आपत्कालीन अवस्थामा तत्काल सजिलैसँग पोर्टेबल अक्सिजन सिलिन्डर प्रयोग गर्न सकिन्छ । अक्सिजनसँगै उच्च भेगमा चिसो र अक्सिजन कमीका कारण टाउको दुख्नेलगायत स्वास्थ्यमा देखा पर्ने समस्याको निदान गर्न वा स्वास्थ्यलाई सन्तुलन राख्नमा सहयोग पुग्नेखालका औषधिसमेतको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । कञ्चनजङ्घासहित जिल्लाका मुख्य पर्यटकीय गन्तव्यहरू फक्ताङ्लुङ गाउँपालिकामा पर्ने हुँदा पालिकाले पर्यटन प्रवर्द्धन साथै भ्रमणमा आउने पर्यटकको संख्या बढाउने उद्देश्यले पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था मिलाएको जनाएको छ । यता दसैँ तिहारको मौसमसँगै आजभोलि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकको संख्या पनि बढ्दै गएको छ । असोज देखि याता ३५० सयको हाराहारीमा विदेशी पर्यटक मात्र भ्रमणमा आइसकेका कञ्चनजंघा संरक्षण व्यवस्थापन परिषद कार्यालय घुन्सा चेक पोष्टका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार कञ्चनजंघा भ्रमण गर्न विदेशी पर्यटकहरू आउने क्रम जारी रहेको छ । त्यस्तै आन्तरिक पर्यटकहरू पनि उल्लेख्य सङ्ख्यामा कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आइरहेका घुन्सा चोकपोष्टले जनाएको छ ।….