वैशाख ४ गते २०८२
04:16: PM
वैशाख ४ गते २०८२
04:16: PM

आरन व्यवसाय जोगाउँन मुस्किल

असाेज १६ गते २०८०
6:34 pm
Author Avatar
फक्ताङलुङ दर्पण

फुङ्लिङ, टक टक घन पिटेको आवाज परैबाट सुनिन्छ । पछिल्लो समय यस्तो आवाज बिरलै मात्र सुन्न पाईन्छ । आगोमा तताएर आकार दिन तयार पारिएको फलाम । फलामलाई सनासोले समाएर घनले पिट्दै गरेका दिल बहादुर घतानी । उहाँले फलाम,हलुङ्गेलाई विभिन्न समाग्रीको आकार दिन थालेको ४० वर्ष पुग्न लाग्यो । आफ्ना बुबाले आरन थापेर साहुहरुको काम गर्नुहुन्र्थो। पैसा साथै अन्न आरान काम गरेर नै ल्याउने गर्थे । जसबाट दिल बहादुरको परिवारको दैनिकी चलेको थियो ।
सोहि आरनमा ४ वर्षको कलिलो उमेरदेखि आफ्ना बुबालाई काम सघाउन थाले दिल बहादुरले । विस्तारै आफैले फलामबाट छिनो, हँसिया,खुकुरी,कर्द, कुटो कोदालोको आकार दिनुथाल्नु भयो । उहाँले बनाएको कुटोले उनको सपनालाई गोडमेल गरेर राखि रह्यो । उनले हलुङ्गेबाट थाल ,बटुका, पानि चुहिने भएका गाग्रीहरुलाई टालेर पुन प्रयोग गर्न मिल्ने बनाए । बुबालाई दैनिकी सघाउन मै बित्यो उनको बाल्यकाल । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ बतासेमा घर भएका उनि विद्यालयसम्म पुग्न पाएनन् । उनलाई अरुलाई झैँ विद्यालय जाने चाहाना नभएको पनि हैन । तर उनको दाजुपनि बुबालाई काम सघाउने गर्थे ।
उनले पनि बुबालाई काम नसघाए दैनिकी असहज बन्नेवाला थियो । त्यसैले अरु जस्तै विद्यालय गएर डाक्टर, ईन्जिनियर बन्ने सपनालाई थाँती राख्दै फलामलाई आकार दिन थाले । हलुङ्गेलाई आकार दिन थाले । चुहिने भाँडा वर्तनलाई टाल्न थाले । आरनमा कोईलामा आगो फुकेर भाटी तान्दै आफ्नो जिन्दगीलाई आकार दिन थाले । पल्ला घरे काकीको छोरा, डाँडा घरे साँईलो, बाटो घरे ठुलेको जस्तो विदेश चाहले उनलाई पटक्कै तानेन् ।
आफ्नो संसार आरन,भाटी र घन पिट्नुलाई सम्झे दिल बहादुरले । देशको व्यवस्था परिवर्तन भएपनि आफ्नो अवस्था नफेरिएकोमा उनलाई कहिलेकाही नरमाईलो लाग्छ । उनि भन्छन्, ‘देशमा गणतन्त्र आयो स्थानिय सरकार आयो, गाउँ गाउँमा सिंह दरबार आयो भनेपनि आफुले त्यस्को महसुस गरेको छैन ।’
पहिले त धेरै जसो कृषि पेशामा नै हुने भएकाले कमाई पनि राम्रो हुन्थ्यो । तर पछिल्लो समय व्यापार,व्यावसाय एवं वैदिशक रोजगारीमा बढ्दो मोहले कृषि पेशा मान्छेहरुले छोड्दै गए । दिल बहादुरको आरन पनि सुनसान जस्तै बन्दै गयो ।
दिल बहादुरलाई आफुले पैसा कमाएर आलिसान महल,गाडि र सहरमा बसाँई सर्न नसकेको मा भने पटक्कै सुर्ता छैन । बरु उनलाई आउँदा पिढीले आफ्नो व्यवसाय सम्हाल्दैनन् की भन्ने चिन्ता लाग्छ । लामो स्वास तान्दै उनि भन्छन्, ‘मेरो बुबा यहि पेशा गर्नु हुन्थ्यो मैले र मेरो दाजुले यहि पेशा अँगाल्यौ । तर हाम्रा सन्तानले यो पेशा अंगाल्छन् भन्नेमा सङ्का लाग्छ । हाम्रा छोराछोरी तपाईहरुको जस्तै हामीलाई घन पिट्नु छैन भन्छन् । हामी दाजुभाईले नै यहि पेशा गरेर छोराछोरीलाई विद्यालय पठाउने गरेका छौं । अव उनिहरुले यो पेशा गर्दैनन् । हाम्रो पेशा पुस्तान्तरण हँुने सम्भावना कम छ । मलाई पैसा नकमाएकोमा भन्दा पनि आफ्नो पेशा लोप भएर जाला भन्ने पिर लाग्छ ।’
आरनमा छिनो र टकटके बनाउन आएका छिमेकीको सामान बनाउँनमा व्यस्त देखिन्थे उनि । फलामलाई आगो लाएर भाटी तान्दै गरेका दिल बहादुर भन्छन सरकारले हाम्रो पेशालाई संरक्षण गरिदिए हुन्थ्यो । यसरी नै पुस्तान्तरण नहुने हो भने आरन यस्तो हुन्थ्यो रे उस्तो हुन्थ्यो रे भन्नेमा पुग्छ । तातिएको फलामलाई टकटके बनाउन लि ( फलामबाट बनाईएको आरनमा प्रयोग गरिने औजार) मा राखेर जोडले घनले पिट्छन् । फलाम मात्रै पिट्दैनन् आफ्ना ईच्छाहरुलाई बेतोडले पिट्छन । फेरि कोईलमा नै राखेर भाटी तान्न थाल्छन् दिल बहादुर । १९९९ सालमा जन्मिएका मेरा बुबा मेरा दाजु भत्त बहादुर र मेरो जिज्दगी आरन मै बित्न लाग्यो । यो ठाउँ र यो पेशालाई छोडेर अन्य ठाउँ जान अरु नै पेशा अँगाल्न सकेनौं । सरकारले सहयोग गरेर हाम्रो पेशालाई संरक्षण गरिदिए हामीलाई मरेर जाँदा पनि ढुक्क हुने दिलबहादुर बताउँछन् ।
आरन के हो ?
आरन एक प्रकारको फलाम, हलुङ्गे लगायतका धातुबाट दैनिक जिवनमा प्रयोग गरिने सामाग्री बनाउने पुरानो पेशा हो ।जहाँ फलामलाई तताएर घनले पिटेर खुकुरी, हँसिया,कर्द, कुटो,कोदालो,छिनो, टकटके,करुवा लगायता सामाग्री बनाईन्छ । साथै हलुङ्गेबाट थाल ,बटुका, पानी चुहिने गाग्रीहरुलाई मर्मत गरेर पुनः प्रयोग योग्य बनाउने गरिन्छ । आदीम कालदेखी पुस्तान्तरण हुँदै आएको यो पेशा विषेश गरि विश्वकर्माहरुले गर्दै आएको पेशा हो । बिगतमा टोल टोलमा आरनहरु थिए भने आरनमा सामान बनाउन आउनेहरुपनि बाक्लो उपस्थिति देखिन्थ्यो । बढ्दो वैदेशिक रोजगारी साथै अन्य पेशा अँगाल्ने क्रम बढेसँगै पछिल्लो समय आरन व्यवसाय गरेर बस्नेहरुको संख्या एकदम नै न्युन रुपमा देख्न सकिन्छ । स्वयं आरन पेशा अँगालेर बसेका दिल बहादुर र भत्त बहादुर आफ्नो पेशा लोपउन्मुख रहेकोमा चिन्तित देखिन्छन् ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo