ताप्लेजुङमा एकै वर्ष ५५ हजार मेट्रिक टन बढी आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा किसानहरुले ५५ हजार मेट्रिक टन भन्दा बढी आलु उत्पादन गर्न सफल भएको हो ।
अघिल्लो आवको तुलनामा गत वर्ष यहाँ आलु उत्पादन वृद्धि भएको केन्द्रका सूचना अधिकारी विनय महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७८÷७९ मा ५५ हजार १७६ मेट्रिक टन आलु उत्पादन भएको थियो । आलु उत्पादनका लागि चार हजार २७० हेक्टर क्षेत्रफलमा किसानले खेती लगाएका थिए । केन्द्रका अनुसार गत वर्ष आलुको उत्पादकत्व प्रतिहेक्टर १२.९५ मेट्रिक टन रहेको छ । जिल्लामा उत्पादन हुने आलु अधिकांश जिल्लाभित्रै खपत हुने र केही परिमाण मात्र जिल्लाबाहिर निर्यात हुने गरेको किसानले बताएका छन् ।
यता जिल्लामा स्थानीय आलुको औसत मूल्य प्रतिकिलो ४५ रुपियाँमा खरिद विक्री हुदैआएको छ । उक्त मूल्य अनुसार अढाइ अर्ब रुपियाँ बराबरको उत्पादन भएको पाइएको छ । स्थानीय प्रजातिको आलुको माग र मूल्य राम्रो भएकाले आलु उत्पादन गरेर किसानले मनग्गे आम्दानी गर्ने गरेका कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापामगरको भनाइ छ । गएको वर्ष यहाँका किसानले लगाएको आलु खेतीबाट कुल ५५ हजार २७९ मेट्रिक टन उत्पादन भएको थियो ।…