विश्व वातावरण दिवसमा ताप्लेजुङमा सरसफाइ र प्रभातफेरी
Phaktanglung Darpan
जेठ २२ गते २०८२
10:00 am
फक्ताङलुङ दर्पण
विश्व वातावरण दिवस २०२५ को अवसरमा ताप्लेजुङमा विविध सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी वातावरण संरक्षणको सन्देश प्रवाह गरिएको छ । फुङ्लिङ नगरपालिका–४ का युवाहरूको अगुवाइमा तोक्मे डाँडास्थित सार्वजनिक बस पार्क क्षेत्रमा बिहानैदेखि सरसफाइ अभियान सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले प्लास्टिकजन्य र अन्य फोहर व्यवस्थापन गर्दै सरसफाइ अभियानलाई प्रभावकारी बनाएका थिए । अन्जना कडरियाका अनुसार स्थानीय युवाहरूको स्वेच्छिक पहलमा अभियान सञ्चालन गरिएको हो, जसले वातावरणप्रति सचेतना जगाउन मद्दत पु¥याएको छ। “सानो प्रयासले ठूलो सन्देश दिन सकिन्छ,” उहाँले भन्नुभयो ।
यसै अवसरमा डिभिजन वन कार्यालय ताप्लेजुङ र लिडल बुद्ध बोर्डिङ स्कुलको सहकार्यमा फुङ्लिङ बजार क्षेत्रमा प्रभातफेरी पनि निकालिएको थियो । “पृथ्वीलाई सफा राख्न प्लास्टिक हटाऔं, प्लास्टिक न्यूनीकरण हाम्रो दायित्व हो” भन्ने मूल नाराका साथ बजार परिक्रमा गरिएको प्रभातफेरीमा विद्यार्थी, शिक्षक, वनकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
फुङ्लिङ बजार परिक्रमा गरिएको प्रभातफेरीमा सहभागीहरूले वातावरण संरक्षणका सन्देशसहित प्लेकार्ड बोकेर जनचेतनामूलक नाराबाजी गर्नुभएको थियो । वातावरणीय प्रदूषण न्यूनीकरण, प्लास्टिकको प्रयोग घटाउने र पुनःप्रयोगयोग्य सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने विषयमा सहभागिहरूले धारणा राखेका थियो ।
विश्व वातावरण दिवस २०२५ को मूल नारा “प्लास्टिक प्रदूषणको अन्त्यः हामी सबैको जिम्मेवारी” लाई आत्मसात गर्दै ताप्लेजुङका विभिन्न तह र क्षेत्रका व्यक्तिहरूले वातावरणमैत्री गतिविधिहरूमा सक्रिय सहभागिता जनाएका हुन् ।…