ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केबलकारको विरोधमा रहेको ‘नो केबलकार’ समूहले मङ्गलबार ग्लोबल आईएमई बैँक घेराउ गरेपछि बैँकिङ सेवा प्रभावित भएको छ। समूहले बैँक तथा वित्तीय संस्थामार्फत सरकार र लगानीकर्ताहरूलाई दबाब दिन खोजेको देखिन्छ।
आइतबार सरकारसँग भएको वार्ता निष्कर्षविहीन भएपछि समूहले ग्लोबल आईएमई र आईएमई मनी ट्रान्सफर बहिष्कार गर्ने निर्णय गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। सोहीअनुसार, ताप्लेजुङसहित पूर्वका विभिन्न जिल्ला तथा सहरमा बैंकका शाखाहरू घेराउ गरिएको छ।
बैँक घेराउका कारण वित्तीय कारोबार अवरुद्ध भएपछि सर्वसाधारणलाई समेत असुविधा भएको छ। आईएमई मनी ट्रान्सफर केन्द्रहरूमा समेत प्रभाव परेको बताइएको छ। समूहले मङ्गलबारदेखि फागुन ९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको बहिष्कार गर्ने घोषणा गरेको छ।
‘नो केबलकार’ समूहले बैंक घेराउलाई सुरुवाती दबाबको रूपमा लिएको बताएको छ। उनीहरूले मुक्कुमलुङ बचाउ पदयात्रा, केबलकार अनुमति खारेजीका लागि फुङ्लिङ नगरपालिका घेराउ, यातायात बन्द, तथा आमहड्ताललगायतका कार्यक्रम अघि बढाउने जनाएका छन्।
यसअघि प्रहरीसँगको झडपका क्रममा गोली लागी कार्यकर्ता घाइते भएपछि यातायात बन्द गरिएको थियो। सरकारले ६ बुँदे सहमति गरेपछि आन्दोलन फिर्ता लिइएको थियो। तर, सरकारले अल्टिमेटमको अवज्ञा गरेपछि समूहले पुनः संघर्षका कार्यक्रम घोषणा गर्नुपरेको जनाएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
