ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ सिकैँचाको वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ८८९ मत खसेको छ । कुल एक हजार ५२८ मतदातामध्ये ५८.१८ प्रतिशतले मतदान गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीश विकास श्रेष्ठका अनुसार सरस्वती मावि कुञ्जारी मतदानस्थलमा ६१५ मत खसेको छ, जसमा ३२६ पुरुष र २८९ महिला छन् । त्यस्तै, दुर्गा मावि ओसे मतदानस्थलमा २७६ मत खसेको छ, जसमा १६० पुरुष र ११६ महिला छन् ।
सरस्वती मावि कुञ्जारीमा एक हजार २६ र दुर्गा मावि ओसेमा ५०२ मतदाता दर्ता भएका थिए । सहायक निर्वाचन अधिकृत दलबहादुर तामाङका अनुसार दुवै स्थलमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
सिकैँचाको वडाध्यक्ष पदका लागि पाँच दलका उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट भीमकुमार लक्सम्बा लिम्बू, नेकपा (एमाले) बाट कुमारी साउदेन, नेकपा (माओवादी केन्द्र) बाट अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवीप्रसाद पौडेल, र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र काङ्वा लिम्बू उम्मेदवार छन् ।
यसैबीच, मतगणना आज रातिदेखि सुरु हुने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले सर्वदलीय बैठक बोलाएर मतगणना प्रक्रिया सुरु गर्ने योजना रहेको बताउनुभएको छ । छलफलका लागि दलहरूलाई साँझ ५ः३० बजे बोलाइएको छ । मतगणनाका लागि तारजालीले घेरिएको स्थल शनिबार नै तयार गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
