सिक्कुम फुरुम्बो चरपे/युके
आस्फोर्ड, केन्ट — किरात याक्युङ चुम्लुङ आस्फोर्ड केन्ट शाखाले शनिवार आयोजना गरेको बलिहाङ तङनाम कार्यक्रमका अवसरमा लिम्बू भाषाका कवि छत्र वनेमद्वारा रचित कविता संग्रह (मिम्जिरे लाम्हा) विमोचन भएको छ । यस अवसरमा प्रमुख अतिथि सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड केन्टका अध्यक्ष डम्बर सिंगक र अन्य विशेष अतिथिहरू किरात याक्युङ चुम्लुङ युकेका केन्द्रीय सहसचिव सकनु नेम्बाङ, केन्द्रीय सल्लाहकार पदम आङबुहाङ र टंक येङदेन तथा निर्वतमान उपाध्यक्ष गणेश इजम, स्थानीय अध्यक्ष सुन्दर लिङथेपलगायतले पुस्तकको विमोचन गरे ।
विशेषता
मिम्जिरे लाम्हा कविता संग्रहमा विविध सांस्कृतिक र सामाजिक विषयवस्तु समेटिएको छ। संग्रहमा साम्ईला, पाङभे साम्लो, केस्साम्लो, सिमेरिङ, हाम्लाक्वा, पालाम, ख्यालीजस्ता परम्परागत गीत र कविता समावेश छन्। कार्यक्रममा लेखक वनेमका कृतिहरूको बारेमा चरपे फुरुम्बोले समीक्षात्मक टिप्पणी प्रस्तुत गरे।
छत्र वनेमः भाषा संरक्षणका योद्धा
छत्र वनेमले यो संग्रह आफ्नो पहिलो लिम्बू भाषाको कृति भएको बताउँदै, लिम्बू भाषा र लिपिका प्रति आफ्नो गहिरो स्नेह र प्रतिबद्धता व्यक्त गरे । लामो समयदेखि आस्फोर्ड, केन्टलाई कर्मभूमि बनाएका वनेमले लिम्बू भाषामा पत्रिका प्रकाशन तथा सम्पादनसमेत गर्दै आएका छन् । उनले भने, “भाषा र लिपि बाँच्नु नै हाम्रो अस्तित्वको रक्षा हो । आफ्नै देशमा रहँदा यसको महत्व नबुझे पनि, हङकङ पुगेपछि मात्र मैले भाषा र लिपिको मर्म चिनेँ। त्यसै कारणले आज पनि म भाषा बोल्न, लेख्न र सिकाउन निरन्तर लागिरहेको छु ।”
बलिहाङ तङनामः परम्परागत सांस्कृतिक पर्व
किरात याक्युङ चुम्लुङ आस्फोर्ड केन्टले हरेक वर्ष आयोजना गर्दै आएको बलिहाङ तङनाम, परम्परागत संस्कृति झल्काउने मुख्य कार्यक्रम हो । यस कार्यक्रममा विशेषगरी लिम्बू समुदायका राष्ट्रिय र स्थानीय कलाकारलाई निम्त्याइन्छ । यो वर्षको बलिहाङ तङनाममा नेपालबाट आएका गायक ब्रविन सेर्मा र गायिका गंगा फियाकले सानदार प्रस्तुति दिए । स्थानीय कलाकारहरूले पनि नाम्लिङगेक र लारिङगेक नृत्य प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरे ।
कार्यक्रमको सञ्चालन
कार्यक्रमको अध्यक्षता किरात याक्युङ चुम्लुङ आस्फोर्ड शाखाका अध्यक्ष सुन्दर लिङथेपले गरेका थिए भने सचिव लालहाङ थलङले कार्यक्रम सञ्चालन गरेका थिए । यस अवसरमा उपस्थित अतिथिहरूले लिम्बू भाषा र संस्कृति संरक्षणमा यस्ता कार्यक्रमहरूको महत्वबारे आफ्नो धारणा राखे ।
छत्र वनेमले आगामी दिनमा अन्य कविता संग्रह प्रकाशनको तयारी गरिरहेको जानकारी दिंदै, आफ्नो कृतिले लिम्बू साहित्यमा योगदान पु¥याउने अपेक्षा राखे ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
