चितेन लिम्बू/ताप्लेजुङ
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ को लोवा डाँडामा नेपाल टेलिकमको फोरजी टावर मार्फत सेवा सञ्चालन भएपछि फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चारको क्षेत्रमा अर्को फड्को मारेको छ । फोरजी सेवा सञ्चालनमा आएसंगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा, अम्जीलेसा र तापेथोकको हेल्लोक, यासाङ, सोत्लिमा, तापेथोक र इखाबुको केही क्षेत्रमा सुविधा पुगेको छ । फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष श्री रविन साम्रा लिम्बुका अनुसार यस सेवा मार्फत फक्ताङलुुङ गाउँपालिकाका करिब तीन हजार जनसंख्या प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।
यसबाट स्थानीय समुदाय मात्रै नभएर कञ्च्नजंघा क्षेत्रमा आउने हजारौं पर्यटकहरुलाई पनि सेवा पुग्ने र विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले दिने सेवामा पनि यस सेवामार्फत इन्टरनेट उपयोग गरि सहजता हुने गाउँपालिकाका प्रमुख राजन लिम्बुको सचिालय मार्फत जानकारी गराउनुभएको छ । भौगोलिक हिसाबले नेपालकै तेस्रो ठुलो गाउँपालिकाको रुपमा रहको यस फक्ताङलुङ गाउँपालिका भौगोलिकरुपमा दुर्गम भएको र मानवबस्ती र जनसंख्याको पहुँचका कारण सञ्चार क्षेत्र विस्तार गर्दा खासै फाइदा नहुने भएकाले विगतदेखि नै सञ्चार क्षेत्रका लगानीकर्ताहरु यस क्षेत्रमा मोवाइल नेटवर्क विस्तार गर्न आनाकानी गरेको पाइएको छ । २०७४ सालमा फक्ताङलुङ गाउँपालिकाको लेलेपस्थित मुरिङ्ला डाँडामा नेपाल टेलिकमको टुजी सेवा विस्तार भएपछि मात्र यस क्षेत्रमा मोवाइल सेवा विस्तार भएको थियो । तर त्यस सेवा प्रभावकारी नभएको गुनासो बारम्बार आएको थियो । फक्ताङलुङ गाउँपालिकाको तल्लो भेगहरु वडा नं. १, २, ३, ४ हरु सावादिन, खेजेनिम, लिङ्खिम र इखाबुका अधिकाँस भेगमा विगतदेखि नै नेपाल टेलिकम र एनसेलको फोरजी सहितको सेवा विस्तार भैसकेका छन् । उता बाँकी वडाहरु वडा नं. ५, ६ र ७ क्रमश तापेथोक, लेलेप र ओलाङचुङगोला क्षेत्र सञ्चारबाट पछाडि पर्दै आएको थियो । फक्ताङलुङ–६ को घुन्सामा र ओलाङचुङगोला बस्ती आसपासलाई लक्षित गरि नेपाल टेलिकमको टुजी सेवा विस्तार भएको थियो ।
स्थानीय समाजसेवी तेञ्जिङ वालुङका अनुसार यो स्थानमा टावर निर्माणको लागि तत्कालीन प्रदेश १ का माननीय मन्त्री प्रतापप्रकाश हाङगामले पहल गर्नुभएको थियो । त्यसपछि पछिल्लो समय फक्ताङलुङ गाउँपालिकाले पनि यसमा पहल गरेको छ । सामाग्रीहरु ढुवानीदेखि लिएर यसको जडानका लागि सम्बन्धित निकायमा पहलकदमी गरेर मात्रै यो सम्भव भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बुले बताउनुभयो । अध्यक्ष स्वयम् सेकाथुमदेखि लोवाडाँडासम्म सामान ढुवानी गर्नका लागि खटिनुभएको थियो । अध्यक्ष लिम्बुका अनुसार अब सोही पालिकाको वडा नं. ७ को हिलेखर्कमा ओलाङचुङगोलाको लागि फोरजी टावर राख्नका लागि सर्भेको काम सकिएको छ भने घुन्सातर्फ पनि टावर राख्नका लागि पहिलो चरणको सर्वे सकिएको उनले बताउनु भयो । उनका अनुसार सो स्थानहरुबाट पनि अवको १ वर्षमा फोरजी सेवा सञ्चालनमा ल्याइने छ ।
यस क्षेत्रका बासिन्दाले इन्टरनेटको सेवा उपयोग गर्न पाएको थिएन । आजको समय इन्टरनेटको समय हो । विदेशमा रहेको आफन्तसंग कुराकानी गर्न र खबर आदानप्रदान गर्न पनि इन्टरनेट अनिबार्य जस्तै भएको छ । यसबाट यस क्षेत्रका बासिन्दा बञ्चित हुदै आएकोमा यस क्षेत्रका सञ्चालन भएको फोरजी सेवाले यहाँका बासिन्दालाई विश्वसंग जोडिदिएको छ । यस क्षेत्रका लागि यो सुचना तथा सञ्चारको क्षेत्रमा नयाँ फड्कोको रुपमा लिन सकिन्छ । फक्ताङलुङ–६, लुङथुङका मिङ्मा शेर्पाले विदेशमा रहेको छोरीसंग परिवार बसेर भिडियो कलमा बोल्न पाउँदा मनै प्रफुल्ल भएको बताए ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
