ताप्लेजुङमा आउँदो असोज ५ गते अन्तर्राष्ट्रिय रेड पाण्डा म्याराथन आयोजना हुने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरणमा हुने यो म्याराथनको मुख्य उद्देश्य रेडपाण्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्नु हो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आइतबार आयोजना भएको एक कार्यक्रमका क्रममा यस म्याराथनको घोषणा हो । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार यो म्याराथनले रेडपाण्डा संरक्षणमा विशेष योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
म्याराथनको मार्ग पाथीभरा क्षेत्रमा तय गरिएको छ, जुन रेडपाण्डाको मुख्य बासस्थान हो । फुङ्लिङ बजारदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा पूजा धामसम्मको २४ किलोमिटर उकालो र त्यहाँबाट पुनः फुङ्लिङ बजारसम्म २४ किलोमिटर ओर्लेर कुल ४८ किलोमिटरको दूरी पूरा हुनेछ । म्याराथनको तयारी सुरु भइसकेको जानकारी दिँदै संयोजक राईले यस कार्यक्रमले ताप्लेजुङलाई पर्यटकीय र जैविक विविधतामा टेवा पर्याउने उद्देश्य रहेको छ ।
असोज ५ गते रेडपाण्डा दिवसको अवसरमा आयोजना हुने म्याराथनमा रेडपाण्डा नेटवर्क र फुङ्लिङ नगरपालिकाको समेत सहयोग रहनेछ । हरेक वर्ष सेप्टेम्बर २१ मा रेडपाण्डा संरक्षण दिवस मनाइन्छ, र यस वर्षको विशेष कार्यक्रमका रूपमा म्याराथनलाई समावेश गरिएको छ । म्याराथनले रेडपाण्डा संरक्षणको महत्त्वबारे स्थानीय समुदायलाई जनचेतना गर्ने लक्ष्य राखेको छ ।
हिमाली संरक्षण मञ्चका फिल्ड संयोजक सुष्मा डाँकीका अनुसार म्याराथन विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । समग्र विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् भने पुरुष तर्फका प्रथम, दोस्रो र तेस्रो विजेताले क्रमशः ५० हजार, ३० हजार, र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला तर्फका विजेतालाई पनि त्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै, विशेष रेडपाण्डा पाइने ताप्लेजुङ, पाँथर, र इलाम जिल्लाबाट सहभागी हुने धावकहरूको लागि अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो, दोस्रो र तेस्रो स्थानमा आउने धावकहरूले क्रमशः १५ हजार, १० हजार, र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
विदेशी धावकहरूका लागि १०० डलर दर्ता शुल्क राखिएको छ भने नेपाली धावकहरूको लागि तीन हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ताप्लेजुङ, पाँथर, र इलाम जिल्लाबाट सहभागी हुने धावकहरूको लागि दर्ता शुल्क एक हजार रुपैयाँ राखिएको छ ।
यो म्याराथन कार्यक्रमलाई सफल बनाउन रेडपाण्डा नेटवर्कले यस वर्ष १० लाख रुपैयाँ सहयोग गर्नेछ भने फुङ्लिङ नगरपालिकाले ५ लाख रुपैयाँ छुट्याएको छ । आयोजकका अनुसार यो म्याराथनले ताप्लेजुङलाई विश्वव्यापी संरक्षण र पर्यटनको केन्द्रको रूपमा स्थापित गर्न मद्दत पुर्याउनेमा विश्वास रहेको जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले बताउनुभयो । । रेडपाण्डाको प्राकृतिक बासस्थानको संरक्षणको महत्त्वबारे स्थानीयलाई शिक्षित गर्न यो अभियानकै रूपमा म्याराथनको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
