सुकेटारमा आजबाट विश्व शान्तिको लागि बज्रगुरु मन्त्रजप पूजा
Phaktanglung Darpan
चैत्र १० गते २०८०
7:52 am
फक्ताङलुङ दर्पण
विश्व शान्तिको लागि ताप्लेजुङमा पाँचौं बज्रगुरु मन्त्र जप पूजा हुने भएको छ । बौद्धमार्गीले विश्व शान्ति तथा समस्त प्राणीहरुको हितार्थका लागि पाँचौँ पटक बज्रगुरु मन्त्र जप आजबाट आयोजना गर्न लागेकाको हो । पाँचौँ ताप्लेजुङ बज्रगुरु मन्त्र जप मूल आयोजक समितिका अनुसार तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बौद्धमार्गीको महत्त्वपूर्ण पूजाका रूपमा रहेको बज्रगुरु मन्त्र जप यही चैत आज देखि देखि १२ गते तीन दिनसम्म आयोजना गर्न लागिएको छ । आयोजक समितिका अध्यक्ष थुप्तेन जिग्ड्रोल (फुपुछेम्बे शर्पा) का अनुसार विश्व शान्ति तथा समस्त प्राणीको हितार्थ साथै भौतिक सुख र मानव शान्तिको कामना गर्दै नियमित बज्रगुरु मन्त्र जप पूजा आयोजना गर्ने गरिएको हो । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका थुप्तेन जिग्ड्रोलले भौतिक सुख तथा आध्यात्मिक चिन्तनका माध्यममार्फत मनमा शान्ति मिल्ने बताउनुभयो । यस्तै देशको शान्ति र समृद्धिमा सहयोग पुग्ने अपेक्षासहित बज्रगुरु मन्त्र जप आयोजना गर्न लागेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार बौद्धमार्गीहरुको पूजा कार्यक्रमजस्तो देखिए पनि बज्रगुरु मन्त्र जपमा सबै धार्मिक आस्थाका नागरिकले सहभागिता जनाउँदै आएका छन् । उहाँले मन्त्र जप पूजा धार्मिक सद्भावको आकर्षणको केन्द्र नै बन्दै गएको दाबी पनि गर्नुभयो । मानिसलाई नैतिकवान् बनाउने र दया, माया र करुणा भाव प्रदर्शन गर्ने नै सबै धर्ममाथिको उद्देश्य रहने भएकाले मन्त्र जपमा भक्तजनको आकर्षण हुने गरेको उहाँको भनाइ छ । यस वर्षको मन्त्र जपमा प्रमुख लामाका रूपमा दिल्गो खेन्चे याङसी रिन्पोछेको उपस्थिति रहने आयोजक समितिका सदस्यसचिव पासाङरिता शेर्पाले जानकारी दिनुभयो।विगतमा झैँ यसवर्ष पनि तीन दिने बज्रगुरु मन्त्र जप पूजामा न्युनतम् ३० देखि ५० हजार भक्तजनले सहभागिता जनाउने अपेक्षा राखिएको शेर्पाले बताउनुभयो ।…