पाथीभरामा चढाएको करिब २३ लाख भन्दा बढी सिक्का गणना हुँदै
Phaktanglung Darpan
फागुन २० गते २०८०
5:06 pm
फक्ताङलुङ दर्पण
ताप्लेजुङको पाथीभरा(मुकुमलुङ)मा भक्तजनहरुले चढाएको सिक्का संकलन गरि गरणना गर्न थालिएको छ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा संकलन हुँदै आएको सिक्का करिब २३ लाख रुपैयाँ बराबरको सिक्कका धमाधम गणना गर्न थालेको हो । पाथीभरामा पूजापाठ गर्न आउने भक्तजनले देवीको नाममा नगद नोट रुपियाँ र सिक्का चढाउने तथा दान गर्ने गर्दछन् । २०७६ साल यताका भरतीय भारु सिक्का करिब दश लाख रुपैयाँ बजारबर र नेपाली सिक्का करिब १३ लाख रुपैयाँ बराबरको सिक्का गणना हुदै गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । कार्यकारी निर्देशक हाङ्बाङका अनुसार माघ महिनाको दोस्रो सातायता सिक्का गणना गर्न सुरु गरिएको हो । समितिको कर्मचारी तथा ज्यालादारी जनशक्तिमार्फत भारतीय सिक्का धमाधम गणना भइरहेको उहाँले जानकारी दिनुभयो । भारतीय सिक्का १० रुपियाँ, पाँच, दुई र एक रुपियाँ दरका रहेका छन् । सिक्का गणना गरिसकेपछि सटहीको प्रक्रिया अघि बढाइने पनि कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । माघ मसान्तसम्ममा पाथीभरा क्षेत्र विकास समितिको कोषमा जम्मा बैंक मौज्दात आठ करोड ९४ लाख ५४ हजार ४५ रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको समितिले जनाएको छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षाको समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । पाथीभरामा हेलिकोप्टरमार्फत मन्दिर परिसरमै पुगिन्छ ।