देवेन्द्र बानिया/ताप्लेजुङ केही वर्ष समय आगाडी सम्म ताप्लेजुङका ग्रामीण क्षेत्रमा चित्रा ढुङ्गा माटो र खरले सलक्क मिलाएर छाइएका रातो माटो र सेतो कमेरोले लिपिका घर हरु देखिन्थे । सहर बजारबाट जोहोकोही गाउँ पुग्दा ती घरहरूले मनै लोभ्याउने मनामोहक देखिने गर्थे । परम्परागत रूपमा बनेका ती घरहरूले धेरैलाई आकर्षित गर्ने गर्दथ्र्थो । उतिबेला गाउँमा अहिलेको जस्तो मोटर गाडी गुड्दैनथे । मान्छेहरू पैदल नै हेर्ने गर्थे । तर अहिले सडक पुगेका नपुगेका गाउँहरू छैनन् । दिनानुदिन गाउँमा सडक निर्माण भइरहेका छन् । सडकको प्रभाव ती पुराना परम्परागत घरहरुमा पर्दै गएको छ । परम्परागत घर र ढुँगे घरहरू ओझेलिँदै जाने क्रममा छन् । अहिले गाउँमा धमाधम सिमेन्ट र काठका घरहरू बन्ने क्रम बढ्दै गएको छ । सक्नेले पक्की पिलर वाला घर बनाएका छन् घर न्यून वर्गका नागरिकले खर ढुङ्गाको छानो हटाएर जस्तापाताले घर छाउन थालेका छन् । यसले पुराना मौलिक घरहरू बिस्तारै विस्थापित हुने अवस्थामा पुगेको छ । जिल्लाको सिदिङवा गाउँपालिका—७ सुरुमखिमका अधिकांश बस्तीहरु ५ वर्ष अगाडि अधिकांश र खरले छाएका थियो । तर अहिले ती बस्तीहरूमा पुग्यो भने विभिन्न रङ्गका जस्तापाताहरूले घरहरु रङ्गीचङ्गी देखिन्छन् । कमेरो रातो माटोले पोतिएका घरहरू कम पाइन्छ । गाउँमा सडक आएपछि गाउँलेहरूले सहर बजारले गर्दा परम्परागत घरहरूलाई भत्काएर नयाँ स्वरूपमा बनाउन थालेको स्थानीय दीपक कुमार राई बताउनु हुन्छ । उहाँले गाउँमा सडक आएपछि धेरै मानिसहरुले बजारबाट सहज रुपमा घर निर्माण गर्ने सामानहरू ल्याइन सक्ने भएपछि ठूलाठूला भवनहरू बनाउन थालेको हो । अहिले यहाँका धेरैजसो मानिसहरूका घरहरू बनाएका छन् । गाउँमा परम्परागत घर र ढुङ्गाको घर विस्थापित गरी पक्की घरहरू बनाउन थालेको बताउनुहुन्छ । राईले पहिले चित्रे घर र खहरका घरहरू भएको ठाउँ सिकाउँदै भन्नुहुन्छ ”त्यो ठाउँमा सबै चित्रे घरहरू थियो । केही जस्ताको पाताले छाएका घर पनि थिए । पक्कै घरहरु त यहाँ एउटा पनि थिएन । ल अहिले हेर्नु त यहाँ कति सिमेन्टबाट भवनहरू बने ? यहाँका १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरू विदेशमा छन् । विदेशमा कमाउने यहाँ ठूलाठूला घर बनाउने गरेका छन् । पहिलाको तुलनामा अहिले गाउँ निक्कै फरक भएको छ । दिनदिनै सिमेन्टका घरहरू ठडिरहेका छन् एक दुई वर्षमा यहाँ चित्रे घर र घरका घरहरू पनि देख्न पाइँदैन ।” सिरिजंगा गाउँपालिका—७ खेवाङमा पनि आधा दशक अगाडिसम्म दुई चारवटा मात्र जस्ताको पाताले छाएका सासाना घरहरू मात्र देखिन्थ्यो। तर पछिल्लो समय तीव्र विकासका कारण खेवाङमा ठूलाठूला छाएका पक्की घरहरू बनेको थियो । विस्तारै सडक सञ्जालले यो ठाउँ जोडिएपछि पुराना घरहरु विस्थापित भएको स्थानीयहरूको भनाइ छ । बुरुमखिम प्राथमिक विद्यालयका शिक्षक गौरीशंकर भट्टराईलेका अनुसार मानिसहरू सजक र सचेत हुँदै गएको हुँदा नयाँ नयाँ प्रविधिको प्रयोग गरेर घर तथा भवनहरू निर्माण बन्न थालेको बताउनुभयो। उहाँले परम्परागत घरहरू भूकम्पीय दृष्टिकोणले केही जोखिम हुने भन्दै नागरिकहरूले सचेतना अपनाएर घर तथा भवनहरू बनाउन थालिएको बताउनुभयो । शिक्षक भट्टराईले परम्परागत घरहरू पनि सबै जोखिम नहुने भन्दै त्यस्ता घर तथा भवनहरू बनाउँदा मापदण्ड चाहिँ अपनाउनुपर्ने बताउनुहुन्छ । मानिसहरूको सोच परिवर्तन हुँदै गएको छ उहाँहरु प्रविधिसँग जोडिन थाले र नयाँ नयाँ प्रविधिको प्रयोग गर्न थाले त्यसले गर्दा पनि गाउँघरमा चित्रेघर ढुङ्गेघर र खर का घर कम बन्न थालेका हुन् शिक्षक भट्टराईले भन्नुभयो । पहिले ग्रामीण क्षेत्रमा सडकको सुविधा थिएन अहिले धेरै ठाउँमा सडकको पहुँच पुगेको छ । त्यसले गर्दा पनि गाउँघरहरूमा परम्परागत घरहरू कम भन्ने र आधुनिक घरहरु बढी बन्न थालेको देखिन्छ ।