ताप्लेजुङमा अवस्थित पाथीभरामा एक महिनामा ३५ लाख रुपियाँभन्दा बढी भेटी रकम संकलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जारी गर्नुभएको प्रेस नोटअनुसार पुस महिनामा कुल ३५ लाख २९ हजार रुपियाँ भेटी रकम संकलन भएको छ । पुस महिनामा भक्तजनले पाथीभरा देवीको नाममा चढाएका र दान गरेको भेटी रकम संकलन गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । संकलन भएको रकम नेपाल बैंक लिमिटेड, सानिमा बैंक र एनएमबि बैंकमा रहेको समितिको खातामा जम्मा गरिएको कार्यकारी निर्देशक हाङ्बाङले बताउनुभयो । पुस महिनाको समेत गरी पाथीभरामा संकलन भएको कुल भेटी रकम आठ करोड ७० लाख ५२ हजार ५४८ रुपियाँ भएको छ । यसअघि मङ्सिर मसान्तसम्ममा आठ करोड ३५ लाख २३ हजार ५४८ रुपियाँ समितिको खातामा मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।..