जितेन चेम्जोङ÷ताप्लेजुङ ताप्लेजुङ जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपुर्ण जिल्लाहो । यहाँ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा देखि लिएर सयौं हिमालहरु, तालतलैया, धार्मिक स्थलहरु, खोलानालाहरुले सजिएको जिल्ला हो । सिङ्जेमा ताल पनि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलामा पर्दछ । यो ताल ओलाङचुङगोला बस्तीबाट एक दिनको पैदल दुरीमा रहेको छ । समुन्द्र सतहबाट ४७०० मिटर उचाइमा रहेको यस तालकोे क्षेत्रफल र गहिराई कति छ भन्ने आधिकारिक तथ्याङ्क छैन । यस ताललाई सामान्यतय पुरा चक्कर लगाउन एक घण्टा भन्दा बढीको समय लाग्दछ । प्राकृतिकरुपमा मनोरम मात्रै नभएर यस ताललाई धार्मिक रुपमा पनि पुजा गरि भाकल पनि गरिने भएको हुनाले आफ्नो मनोकाङ्क्षा पुरा हुने आशामा पनि यस तालको दर्शन गर्नेहरुको लर्काे लाग्ने गरेको छ । यस तालको आफ्नै स्थानीय किवदंतिहरु रहेका छन् । स्थानीय लामा तथा ज्येष्ठ नागरिकहरुका अनुसार यस तालको किनारमा एक जना स्थानीय भोटे बसीरहेको बेला पोखरीबाट एउटा चौरी निस्केर तालको किनारमा दिशा गरेको र त्यस गोबरलाई उसले घरमाल्याएर आएको साथै त्यसपछि त्यो मान्छे धेरै सम्पन्नभएको र पछि अमेरिकातिर गएको भन्ने भनाई पनि रहेको छ । स्थानीय फुजुङ शेर्पाका अनुसार धेरै वर्ष अगाडि त्यस पोखरीको आसपासमा भेडी गोठ बस्दाखेरी पोखरीबाट एउटा भेडाको थुम्बा निस्केर भेडाको बगालमा मिसियो रे पछि त्यसलाई गोठालाहरुले मारेर खाएछन् त्यस पछि फेरि पोखरीबाट दुई वटा भेडा निस्केर बगालको सबै भेडालाई सुघेछ त्यसपछि त्यस बगालका सबै भेडाहरु सो पोखरीमा पसेर हराएको थियो रे । यस पोखरीको आफ्नै विशेषताहरु रहेका छन् यसको उत्तर तिर एउटा पुजाको लागि थान पनि बनाएको छ । यस थानमा आफुलाई मनमा लागेको कुरा माग्ने चलन रहेको छ । खास यस पोखरीमा जाँदा विहान चोखो मुखमा जाने र केही बस्तु लगेर चढाउने पनि चलन रहेको छ । विशेष गरेर यहाँ पुगे पछि आफुसंग जे छ त्यो नै त्यहाँ चढाउने चलन रहको छ । त्यसैले प्राय पुजा थानमा दर्शानार्थीले छाडेका गरगहना, घडी, औठी, चुरा लगायतका सामानहरु देख्न सकिन्छ । कसैले सुन, चाँदी पैसा नगद सिक्का पनि प्रसस्तै चढाउने गरिएको भएतापनि हालसम्म त्यसको व्यवस्थापनहुन सकेको छैन । कसैले यस तालमा पुगे पछि भाग्यमानीहरुले आफ्नो भाग्य पनि देख्न सक्ने भनेर विश्वास गर्दछन् । कसैले त मैले यो देँखे तालमा भनेर पनि भन्ने गर्दछन् तर यसमा आफ्नो भाग्य देखिन्छ या देखिन्दै र के देखिन्छ भन्ने तथ्य भने प्रमाणित भएको छैन । यस तालमा पुग्नको लागि ताप्लेजुङको दरमुकाम फुङलिङदेखि इलाडाडाँसम्म एक दिनको कच्ची तमोर कोरिडोरको बाटो भएर भोलिपल्ट एक दिनको पैदल यात्रा पश्चात ओलाङचुङगोला पुगेर भोलिपल्ट गोलाबाट जदाक, देउमा हुदै तालभन्दा २÷३ घण्टा मुनिको छेर भन्ने ठाउँको चौरी गोठमा बस्नु पर्दछ । यस क्षेत्रमा यात्रा गर्दा खेरी विचमा होटल, चिया पसल जस्ता कुनै आवासका लागि घरहरु छैनन् । आफुलाई विचमा आवश्यक सामाग्रीहरु आफैले बोक्नु पर्दछ । चौरी गोठमा खाना र चिया र सामान्य रुपमा सुत्नका लागि व्यवस्था रहेको हुन्छ । भोलिपल्ट ३÷४ घण्टाको यात्रापछि तालमा पुग्न सकिन्छ र तालको अवलोकन र दर्शन गरे पछि फर्केर गोठमा खाना खाएर फर्केर ओलाङचुङगोलासम्म आउन सकिन्छ । राम्रो व्यवस्थित तरिकाले जानका लागि टेन्ट, स्लिपिङ ब्याग लगायतको सामग्री आफ्नै बोकेर पनि जान सकिन्छ । यस क्षेत्रमा जानका लागि उपयुक्त मौसम भने बैसाख अन्तिम देखि असोज पहिलो हप्तालाई लिन सकिन्छ । त्यस बाहेक यस क्षेत्रमा गोठ नबस्ने भएकाले बस्नका लागि समस्या हुने गर्दछ भने चिसो मौसममा उच्च ठाउँ भएकाले हिउँ पनि पर्ने भएकाले यात्रा कठिन हुने गर्दछ । यस तालको दर्शनमा जाने परम्परा धेरै पुरानो छ तर यहाँ पुग्ने मानिसहरु टाढाको थिएन । लेलेप, तापेथोक, लुङथुङ, हेल्लोक, इखाबु, लिङखिम, खेजेनिम क्षेत्रका मानिसहरु यस तालको दर्शनमा जाने चलन थियो । यो तालको बारेमा त्यहाँका बाहेकलाई थाहा नै थिएन । तर पछिल्लो समय यस तालको दर्शनमा जानेहरुको संख्या बढिरहेको छ । पछिल्लो समय बैसाख अन्तिम तिर यस फक्ताङलुङ दर्पणको टिम यस क्षेत्रमा पुग्दा दैनिक जसो एक टोली यस तालमा पुगेर फर्कदै गरेको र जाँदै गरेको भेटिएको थियो । स्थानीय डी गोठवाला तेम्बा शेर्पाले दैनिक रुपमा ६÷१२ जनासम्मलाई खाना र बास दिदै आएको बताउनु भयो । यदि संख्या बढिहाल्यो भने अरु दुई वटा चांैरी गोठहरु पनि यस क्षेत्रम रहेको छ । यस क्षेत्रमा अहिले तीन वटा गोठहरु रहेका छन् उनिहरुले सिङ्जेमा तालको दर्शनमा मानिसहरु आउने ठानेर नै गोठमा चामल, तरकारी, नुन, तेल, मसला र ओढ्ने ओछ्याउनेको व्यवस्था गरका छन् । एउटा गोठमा दश जनासम्मलाई बास दिन सकिने स्थानीय गोठाला फुजुङ शेर्पा बताउछन् । विगतमा साउन र भदौमा मात्रै यस तालमा घुम्न आउने भएपनि अहिले यस तालको प्रचारप्रसार भएसंगै सिजन सुरु भएपछि यता तिर मानिसहरु देखिन थालिहाल्ने तेम्बा शेर्पा बताउँछन् । ओलाङचुङगोलाबासीका अनुसार युट्युबर भाग्य न्यौपानेले आफ्नो च्यानलमार्फत दुई वर्ष अगाडि देखि यस तालको प्रचार गरेपछि पर्यटकहरुको पनि संख्या ह्वत्तै बढेका हुन् । तर यस तालको दर्शन र मनोरञ्जनका लागि वर्षमा कतिपर्यटक आएभन्ने तथ्याङ्क कसैले राखेका छैनन् । यो ताल कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने भएकाले यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारसंगै कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को पनि हो । पछिल्लो समय यसको प्रचार भएसंगै यस क्षेत्रमा फिल्म छायाँकन गर्ने, डकुमेन्ट्री बनाउनेहरुको पनि संख्या बढेको छ । तर यस क्षेत्रमा फिल्म, डकुमेन्ट्री, ड्रोन क्यामरा प्रयोग गर्न पनि परिषद्को स्वीकृति अनिवार्य रहेको छ ।