असार २८ गते २०८२
10:37: PM
असार २८ गते २०८२
10:37: PM

स्थानीय सहकार्यमा चौँरीपालन पुनरुत्थानको बाटोमा

जेठ १ गते २०८२
2:56 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङका उच्च हिमाली भेगहरूमा अब पुनः परम्परागत चौँरीपालनको आवाज गुन्जिन थालेको छ। समुन्द्र सतहदेखि पाँच हजार मिटरभन्दा माथिका क्षेत्रहरूमा युगौँदेखि जीविकाको आधार बनेको चौँरी (याक)पालन पछिल्लो दशकमा संकटको छेउमा पुगे पनि स्थानीय सरकारहरूको सहकार्यले अब यसको पुनरुत्थानको आशा जगाएको छ।

शहरीकरण, मौसम परिवर्तन, रोजगारीका लागि वैदेशिक पलायन र नयाँ पुस्ताको चासोको अभावका कारण चौँरीपालन ओझेलमा परेको थियो। तर सिरिजङ्घा, फक्ताङलुङ, मिक्वाखोला र मैवाखोला गाउँपालिकाहरूले अब आफ्ना गाउँहरूबाटै समाधान खोज्दै चौँरीपालनलाई संरक्षण र प्रवद्र्धन गर्ने अभियान थालेका छन्।

सिरिजङ्घा गाउँपालिकाले पहिलोपटक आयोजना गरेको ‘चौंरी प्रदर्शन कार्यक्रम’ले चौँरीपालन पुनः जनचासोको विषय बन्न सक्ने सम्भावना देखाएको छ। कार्यक्रममा याकको शारीरिक बनोट, स्वभाव, चालचलनको आधारमा उत्कृष्ट चौँरी छनोट गरी पुरस्कार प्रदान गरियो। यो केवल प्रतिस्पर्धा थिएन, दुर्गमका पालक किसानको सम्मान थियो।

चौंरी व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष दावा शेर्पाका अनुसार, यस्तो पहलले किसानमा सम्मानको भावना जगाउनुका साथै उत्पादन सुधार गर्ने हौसला पनि दिएको छ। “राज्यको नजरमा परेको महसुस हाम्रा लागि ठूलो कुरा हो,” अध्यक्ष शेर्पाले भने।

यस्तै, फक्ताङलुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा चौँरीपालकलाई ७५ प्रतिशत अनुदानमा चौँरी वितरण गर्ने कार्यक्रम सुरु गरेको छ। पालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार, यो योजना प्रदेश सरकार र स्थानीय तहको संयुक्त लगानीमा सञ्चालित हुनेछ। “यसले चौँरीपालनको पुनरुत्थान मात्र होइन, कृषकको आयआर्जनमा समेत टेवा पुर्‍याउनेछ,” उनले बताए।

मिक्वाखोला गाउँपालिकाले पनि याक संरक्षण तथा प्रवद्र्धनका लागि २५ लाख रुपैयाँको कार्यक्रम अघि सारेको छ। अध्यक्ष भक्तबहादुर कार्कीले यो योजनाबाट प्राविधिक तालिम, चरनक्षेत्र विस्तार र आधुनिक व्यवस्थापन प्रणालीको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

त्यस्तै, मैवाखोला गाउँपालिकाले पाँच लाख रुपैयाँको याक प्रवद्र्धन कार्यक्रम सम्पन्न गरिसकेको छ। अध्यक्ष विजय प्रकाश वनेमका अनुसार, “हामी स्थानीय स्रोतको भरपुर प्रयोग गर्दै चौँरीपालनलाई संरक्षण र आयआर्जनको भरोसायोग्य माध्यम बनाउने प्रयासमा छौँ।”

चौँरी ताप्लेजुङको उच्च हिमाली क्षेत्रको पर्यावरणीय सन्तुलन, संस्कार र जीवनशैलीसँग गहिरो रूपमा गाँसिएको छ। हिउँद याममा उच्चभूमिमा चरिने चौँरीले दूध, मासु, घ्यू, रौं (ऊन) जस्ता उत्पादनमार्फत स्थानीय जीवनमा आर्थिक र पोषणीय आधार तयार पार्ने गर्छ।

आज चौँरी नाफा मात्र होइन, संस्कृति, पर्यावरण र पहिचानको पनि प्रश्न बनिरहेको छ। यहीबेला स्थानीय तहहरूले अघि सारेका योजनाले चौँरीपालनको भविष्य फेरि उज्यालो बन्ने आशा दिएको छ — जहाँ नीति, पहिचान र प्रविधिको सहकार्यबाट चौँरीपालन फेरि जीवन्त हुँदैछ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo