असार ३० गते २०८२
08:04: PM
असार ३० गते २०८२
08:04: PM

साहसिक पर्यटनका लागि नयाँ कञ्चनजङ्घा पदमार्ग सञ्चालन

वैशाख २८ गते २०८२
7:55 am
Author Avatar
फक्ताङलुङ दर्पण

हिमाल सुन्नासाथ धेरैका मनमा एक विशाल, शान्त र अडिक छवि उदाउँछ — हिउँले ढाकिएको अग्लो पहाड, जसले साहस, शान्ति र उचाइको प्रतीक बोकेको हुन्छ । यही आकर्षणले गर्दा मानिसहरू हिमाल चढ्न तल्लिन छन्, वा कम्तीमा पनि नजिकै पुगेर एक पटक हेरौँ भन्ने चाहना राख्छन् ।
ताप्लेजुङमा अवस्थित कञ्चनजङ्घा, विश्वको तेस्रो अग्लो हिमाल, उचाइको मात्र नभएर सांस्कृतिक, जैविक र साहसिक विविधताको पनि धरोहर हो । यसै हिमालका क्षेत्रमा पर्ने सिरिजङ्घा गाउँपालिकाले साहसिक कञ्चनजंघा पदमार्ग निर्माण गरेको छ ।
गत साता पदमार्गको प्रचार र प्रवद्र्धन गर्नका लागि सिरिजङ्घा गाउँपालिकाले आयोजना गरेको “सिरिजङ्घा पर्यटन महोत्सव“को आयोजना गरेको थियो । समुद्री सतहदेखि तीन हजार ३०७ मिटर उचाइमा पर्ने नयाँ झोरेनी भन्ने ठाउँमा आयोजना गरिएको महोत्सवको मूल उद्देश्य स्थानीय प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटन सम्भावनाको प्रचार–प्रसार गर्नु थियो । विशेषगरी थुब्रै पिकलगायतका आकर्षक हिमशृङ्खलालाई परिचित गराउनु, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नु र आर्थिक विकासको नयाँ बाटो खोल्नु महोत्सवको मर्म थियो ।
सिरिजङ्घा–८ याम्फुदिनसम्म अहिले यातायातका साधन सहज रुपमा पुग्न सक्छन् । तर त्यसपछि सुरु हुन्छ वास्तविक साहसिक यात्रा—करीब ४० किलोमिटर लामो पदमार्ग, जसले यात्रुलाई प्रकृतिको अँगालोमा पुर्याउँछ । यात्रा अझ रोमाञ्चक बनेको छ, किनकि नयाँ पदमार्गको विकल्प खुलेको छ ।
नयाँ झोरेनीबाट सुरु हुने पदमार्गले मार्गले आम्जी खोलाबाट तुप्लुङ, दुन्दुडाँडा, नगर्चा हुँदै चैराम र अन्ततः ओक्ताङ बेशक्याम्पमा पुर्याउँछ । ओक्ताङ, जुन समुद्री सतहबाट ४९०० मिटरको उचाइमा रहेको छ, कञ्चनजङ्घा हिमालको दक्षिण आधारशिविर हो। यहीँबाट आरोहण गर्नेहरू क्याम्प १, २, ३ हुँदै शिखरको यात्रा सुरु गर्छन् ।
सिर्जनात्मक सोच र प्राकृतिक सौन्दर्यको समिश्रणमा बनेको यो नयाँ पदमार्ग साहसिक पर्यटकका लागि एक सुनौलो अवसर हो । सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोका अनुसार नयाँ पदमार्गबाट पदयात्रीहरुले एकैपटक थुप्रै हिमशृङ्खलाको दृश्यावलोकन गर्न पाउनेछन् । २२ किलोमिटरको नयाँ मार्ग निर्माण भइसकेको छ भने दुई वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छन् ।
पदमार्ग निर्माण गर्नका लागि पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयबाट तीन करोड ५० लाख रुपैयाँको लगानी भएको छ । बाँकी ३० प्रतिशत लगानी गाउँपालिकाले गरेको हो । “हामीले साझेदारीमा काम गरेका छौँ, किनभने यो पदमार्ग पूर्वाधार निर्माणको लागि होइन, दीर्घकालीन समृद्धिका लागि हो,” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङदेम्बेले बताउनुभयो ।
नयाँ पदमार्गले सिरिजङ्घा क्षेत्रलाई साहसिक हिमाली पर्यटकीय क्षेत्रको नक्सामा थप प्रस्ट रूपमा चिनाउने विश्वास गरिएको छ । साहसिक गन्तव्यहरू मध्ये कञ्चनजङ्घा अब थप पहुँचयोग्य र व्यवस्थित गन्तव्य बन्नेछ । पदमार्गले पर्यटन प्रवद्र्धनको साधन मात्र नभएर स्थानीय रोजगार सिर्जनाको माध्यम बन्ने गाउँपालिकाले जनाएको छ । गाइड, पर्यटक सहायता समूह, होमस्टे व्यवसाय, हस्तकला बिक्रीजस्ता आयमूलक क्रियाकलापले गाउँलेलाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
पदमार्गले हिमशृङ्खलासंगै विभिन्न जैविक विविधताहरू—वनस्पति, वन्यजन्तु, चरा–चराको जीवनशैली—अवलोकन गर्ने अवसर पनि प्रदान गर्छ । साथै, यो क्षेत्र लिम्बु, शेर्पा लगायत आदिवासी समुदायको सांस्कृतिक केन्द्र पनि हो । ती समुदायका भाषा, परम्परा र जीवनशैली बुझ्न पदयात्रा एउटा जीवित संग्रहालयजस्तै बन्ने पदयात्रामा अनुभव संकालेका नापी कार्यालय ताप्लेजुङका नापी अधिकृत रनजिता श्रेष्ठले आफनो अनुभव सुनाउनुभयो ।
जब हिउँले ढाकिएको कञ्चनजङ्घा हिमालको चुचुरो देखिन्छ, त्यहाँ पुग्न मानिस बाटो होइन, भावना, सपना र संकल्प लिएर जान्छ । अब त्यो सपना नयाँ साहसिक पदमार्गबाट अझ सहज, व्यवस्थित र आकर्षक ढंगले पुरा हुन सक्ने गाउँपालिकाले जनाएको छ । ।।।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo