असार २९ गते २०८२
12:11: AM
असार २९ गते २०८२
12:11: AM

फुङलिङमा अध्यक्षको अभिव्यक्तिमाथि कर्मचारीको आपत्ति

असार ११ गते २०८२
1:45 pm
Author Avatar
फक्ताङलुङ दर्पण

फुङलिङ, ताप्लेजुङ
नगरपालिकाको नियमित वार्षिक बजेट प्रस्तुति कार्यक्रमको क्रममा उठेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै फुङलिङ नगरपालिकाका कर्मचारीहरूले प्रवक्ता तथा वडा नं २ का अध्यक्ष मोहन न्यौपानेको व्यवहारमाथि आपत्ति जनाएका छन्।

मंगलबार नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेट तथा नीति कार्यक्रममाथि छलफलको क्रममा अध्यक्ष न्यौपानेले व्यक्त गरेका केही भनाइलाई अपमानजनक ठहर गर्दै कर्मचारीहरूले सामूहिक विज्ञप्ति जारी गरेका हुन्। विज्ञप्तिमा नगरसभा सञ्चालनका लागि खटिएका कर्मचारीहरूमाथि "किन आएका?", "को बोलाएर ल्याएको?" भन्ने प्रश्न उठाएर उनीहरूको मर्यादामाथि ठेस पुर्याइएको आरोप लगाइएको छ।

नगरकर्मचारीहरूको धारणा छ—कार्यपालिकाबाट पारित गरी प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा देखिएका त्रुटीहरूमा जवाफ दिने जिम्मेवारी कार्यपालिका सदस्यहरूको हुने हो, न कि त्यसका लागि जिम्मेवार नभएका कर्मचारीहरूमाथि प्रश्न उठाउने। “यस्ता गैर-जिम्मेवार अभिव्यक्तिहरूले कार्य वातावरणमा नकारात्मक असर पार्ने भएकाले हामी गम्भीर आपत्ति जनाउँछौं,” विज्ञप्तिमा उल्लेख छ।

यसबाहेक, व्यक्तिगत आरोप, धम्की, वा अपमानजनक व्यवहारले कर्मचारीको मनोबल गिराउने भन्दै कर्मचारीहरूले यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेका छन्। गुनासो तथा असन्तुष्टि विधिसम्मत रूपमा प्रमुख प्रशासकीय अधिकृतमार्फत राख्नुपर्ने पनि उनीहरूले स्मरण गराएका छन्।

वडा अध्यक्षको प्रष्टोक्ति
आफूमाथि उठेका आरोपपछि वडा अध्यक्ष मोहन न्यौपानेले नगरसभामा कसैलाई अपमान गर्ने उद्देश्य नरहेको बताएका छन्। “मैले कार्यालय र स्वास्थ्य संस्था बन्द गरेर नगरसभा आउनु आवश्यक छैन मात्र भनेको हुँ,” अध्यक्ष न्यौपानेले प्रष्ट पार्दै थपे, “यदि मैले उठाएको कुरा गल्ती हो भने माफी माग्न तयार छु।”

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo