— दिलकुमार लिम्बू
तपाईंले कल्पना गर्न सक्नुहुन्छ—जहाँ मानिस हिँड्नसमेत डराउँछन्, त्यहाँ कसैले साइकल कुदाउँछ? जहाँ तीव्र हावा शरीर तान्न खोज्छ, अक्सिजनको अभाव छ, र जमिन ढुंगा, चट्टान र हिउँले भरिएको छ—त्यहाँ कसैले साइकल बोक्दै, कहिले उफार्दै हिमाली चुलीको काखमा पुग्छ? यो कुनै कल्पना होइन, ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरमा पहिलो पटक सम्भव भएको जीवित कथा हो।
गत साता धरान माउन्टेन बाइक नेटवर्कका चार साहसी साइक्लिस्ट—अविसेक मादेन, अनिष तामाङ, दीपसागर तामाङ र निमा शेर्पाले नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको दक्षिणी आधार शिविरसम्म साइकलमा पुगेर असम्भव लाग्ने यात्रालाई सफल बनाए। यो उपलब्धिले नेपालको साहसिक पर्यटनमा नयाँ सम्भावनाको ढोका खोलेको छ।
सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनस्थित थुङगिमबाट सुरु भएको यात्रा नयाँझोरेनी, तरुङदेन, चाइराम, राम्जेर हुँदै ओक्ताङसम्मको कठिन पदमार्ग हुँदै आधार शिविरमा पुगेर सकियो। करिब ४,८०० मिटर उचाइमा रहेको यो बाटो अत्यन्तै साँघुरो, ओरालो–उकालो, ढुंगामय छ, र मौसम पनि अनिश्चित। कतिपय स्थानमा साइकल बोक्नैपर्ने बाध्यता थियो, कतै उफार्दै चढ्नुपर्यो।
उनीहरूले वैशाख १५ देखि १७ गतेसम्म आयोजित ‘कञ्चनजङ्घा पर्यटन महोत्सव–२०८२’ मा सहभागी हुँदै यो यात्रा गरेका थिए। गाउँपालिकाका उपाध्यक्ष चित्र मावोका अनुसार, “यो पहिलोपटक हो जब कसैले साइकल लिएर आधार शिविरसम्म पुगेका छन्।” उनका अनुसार यो प्रयासले नयाँ साहसिक खेल पर्यटनको सम्भावना देखाएको छ।
स्थानीयका लागि यो दृश्य चकित पार्ने खालको थियो। सिरिजङ्गा–६ सुदापका विष्णु लिम्बूले भने, “पहाडको काखमा हिउँमाथि साइकल चलाउँदा मैले पहिलोचोटि कुनै पर्वतभन्दा पनि ती युवाहरूको साहस देखेँ।” भोजपुरकी सरिता राई पनि उत्साहित थिइन्, “साइकल त म तराईमा मात्र देख्थें, अब त हिमालमा पनि कुद्न सकिने रहेछ।” फुङ्लिङका तारा बरालले भने, “जहाँ बाँदर हिँड्न डराउँछ, त्यहाँ साइकल चलाउनु भनेको मुटु नभएकै काम हो।”
साइकल यात्रा प्राविधिक रूपमा पनि कठिन थियो। बाटोको अवस्थाले गर्दा अनेक मोडमा साइकल बोकेर चढ्नुपर्यो। तर अधिकांश खण्डमा साइकल कुदाउन सकिने भएकाले यो यात्रा केवल चुनौती मात्र होइन, आत्मविश्वासको परिक्षण पनि बन्यो। साइक्लिस्टहरूका अनुसार यस्तो यात्रा केवल शारीरिक हैन, मानसिक तयारीको परीक्षा पनि हो।
कञ्चनजङ्घा आधार शिविर विश्वकै तेस्रो अग्लो हिमालको काख हो। जोखिमपूर्ण भूगोल, उच्च उचाइ, अक्सिजनको न्यूनता, कठोर मौसम र समतल जमिनको अभावले गर्दा यहाँ पुग्नु आफैंमा चुनौतीपूर्ण छ। यो साइकल यात्रा केवल खेल होइन, हिमाली पर्यटनमा नयाँ अध्यायको सुरुवात पनि हो।
यात्रापछि स्थानीय पर्यटन व्यवसायीहरूमा उत्साह छाएको छ। अझसम्म ट्रेकिङ र पदयात्रामा मात्र सीमित पर्यटन अब माउन्टेन बाइकिङ, ट्रेल रनिङ, रक क्लाइम्बिङ जस्ता साहसिक गतिविधितर्फ पनि उन्मुख हुने देखिएको छ। गाउँपालिकाले आगामी वर्ष साइक्लिङ प्रतिस्पर्धा आयोजना गर्ने तयारीमा रहेको छ।
उपाध्यक्ष मावो भन्छन्, “हामीले विदेशी साहसिक पर्यटकलाई आकर्षित गर्ने सम्भावना देखेका छौं। प्रचारप्रसारमा जोड दिँदै प्रतियोगिता, गाइड तालिम र आधारभूत पूर्वाधारमा लगानी गर्ने सोच छ।” यस्तो कार्यान्वयनले होटल, यातायात, हस्तकला, र अन्य सेवा क्षेत्रमा प्रत्यक्ष आर्थिक लाभ पुर्याउनेछ।
साइक्लिङ यात्राले सन्देश दिएको छ—सपना, साहस र समर्पण भए कुनै पनि असम्भव देखिने लक्ष्य सम्भव बन्न सक्छ। नेपालको हिमाली भूगोलमा साहसिक पर्यटनको सम्भावना प्रसस्त छ, केवल त्यसलाई पहिचान गरी अघि बढाउनु आवश्यक छ।
कञ्चनजङ्घा क्षेत्रमा देखिएको यो पहिलो साइकल यात्रा अब पदयात्रा मात्र नभई पर्वतारोहण, ट्रेल रनिङ, र माउन्टेन बाइकिङ जस्ता क्रियाकलापहरूलाई पनि समानान्तर रूपमा अघि बढाउने आधार बन्नेछ। पर्यटन दृष्टिकोणले हेर्दा यो क्षेत्र साहसिक खेलको उत्कृष्ट गन्तव्य बन्ने दिशामा उन्मुख हुँदैछ।
चार साइक्लिस्टहरूले चिसो हावा, कठिन उकालो, र पहराको खतरापूर्ण बाटो पार गर्दै आधार शिविरमा साइकल कुदाएर जुन साहस देखाए, त्यो नेपाली युवाको सम्भावना र आत्मबलको प्रतिबिम्ब हो। यो प्रेरणाले भविष्यमा अन्य युवालाई पनि हिमाली साहसिक पर्यटनतर्फ आकर्षित गर्नेछ।
आज तिनीहरूले जुन सम्भावनाको बीउ रोपे, त्यसले भोलिको दिनमा नेपालको साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउनेछ।