ताप्लेजुङमा सदरमुकाम फुङ्लिङमा कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका साथ महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेयद्धारा उद्घाटन गरिएको हो । ताप्लेजुङको फुङलिङ नगरपालिका—३ मा दुई करोड २८ लाख ९१ हजार १८६ को लागतमा उक्त भवनको निर्माण भएको कोलेनिका ताप्लेजुङका कोष नियन्त्रक यमनाथ गिरीले बताउनुभयो । उहाँको अनुसार कार्यालयको भवन निर्माणका लागि सुरुमा तीन करोड ६४ लाख ९७ हजार २०९ रुपियाँको लागत लाग्ने अनुमान गरिएको थियो । २०७७ साल चैत १९ गते दुई करोड ४७ लाख ९ हजार १८६ रुपियाँमा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको झण्डै चार वर्षको अवधिमा मिति २०८१ साल असोज ३० गते भवनको निर्माण कार्य सम्पन्न भएको हो । नयाँ भवनबाट नयाँ उर्जाका साथ सेवा प्रवाह हुने प्रमुख जिल्ला अधिकारी नेत्र प्रशाद शर्माले बताउनुभयो । उहाँले भन्नुभयो“कोलेनिका आर्थिक गतिविधि हुने कार्यालय हो । कर्मचारीहरुले समवेदनसिल भएर सेवा प्रवाह गर्नु पर्दछ । गुनासो आउँनु हुदैन । अहिले सम्म यस कार्यालयबाट गुनासो आएको पनि छैन ।” जिल्लामा ठुलै आर्थिक कारोबार हुने भएकाले सरकारलाई बुझाउनु पर्ने कर जिल्लाबाटै व्यवस्था गर्नका लागि कर कार्यालय स्थापन गर्न सबै तरबाट पहल गर्न जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले बताउनुभयो । अहिले कर तिर्न पाँचथर जिल्लामा जानु पर्ने बाध्यता रहेकाले जिल्लामा नै कर कार्यालय स्थापन गर्नु पर्नेमा जोड दिनुभयो ।