चैत्र २४ गते २०८१
09:26: PM
चैत्र २४ गते २०८१
09:26: PM

फुङ्लिङमा २०० कुकुर बन्ध्याकरण, २४१ लाई रेविज खोप

फागुन १९ गते २०८१
1:18 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा कुकुर बन्ध्याकरण तथा रेविज खोप अभियान सञ्चालन गरिएको छ । सडकमा अनियन्त्रित रूपमा वृद्धि भइरहेका कुकुरहरूको जनसंख्या नियन्त्रण गर्दै रेविज संक्रमणको जोखिम न्यूनीकरण गर्न अभियान सञ्चालन गरिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङको आयोजना र नेपाल एग्री लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर, इटहरीको प्रविधिक सहयोगमा सम्पन्न अभियानअन्तर्गत २०० कुकुरलाई बन्ध्याकरण गरिएको छ भने २४१ कुकुरलाई रेविज (बिहुला) विरुद्धको खोप लगाइएको छ ।

सडकमा अनियन्त्रित रूपमा बढिरहेका कुकुरका कारण दुर्घटना र रेविज संक्रमणको जोखिम उच्च बन्दै गएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डा. रोशन दाहालका अनुसार रेविज एक गम्भीर भाइरल रोग हो, जसले मानिस र जनावर दुवैलाई असर पार्छ। कुकुरको टोकाइबाट सर्ने यो रोग रोकथामका लागि बन्ध्याकरण तथा खोप अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

“विश्व स्वास्थ्य संगठनले सन् २०३० भित्र ‘शून्य मानव रेविज मृत्यु’ को लक्ष्य लिएको छ । नेपाल सरकारले पनि स्थानीय स्तरमा यस्ता अभियान सञ्चालन गरिरहेको छ,“नेपाल एग्री लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टरका डा. सूर्य नारायण शाहाले भन्नुयो । “अभियानअन्तर्गत १६४ सामुदायिक र २६ घरपालुवा कुकुर बन्ध्याकरण गरिएका छन् । जसमा ८९ भाले र १११ पोथी कुकुरलाई बन्ध्याकरण गरिएको छ ।”

डा. शाहाका अनुसार पोथी कुकुरको संख्या बढी हुनु जनसंख्या नियन्त्रणको दृष्टिले सकारात्मक संकेत हो । एक पोथी कुकुरले वार्षिक रूपमा चारदेखि आठवटा पाठा जन्माउन सक्छ, जसले भविष्यमा कुकुरको संख्या तीव्र रूपमा बढाउने सम्भावना रहन्छ । अभियानमा पशु चिकित्सक तथा प्राविधिकहरूको टोलीले सहभागिता जनाएको थियो । कुकुरहरूलाई सुरक्षित रूपमा समातेर बेहोस पार्ने औषधि (एनेस्थेसिया) दिई शल्यक्रिया गरी बन्ध्याकरण गरिएको थियो । बन्ध्याकरणपछि एन्टिबायोटिक र आवश्यक खोपहरू लगाएर कुकुरहरूलाई पुनः स्थानमा छोडिएको भेटेरिनरी अस्पतालले जनाएको छ ।

स्थानिय बासिन्दाहरूले सडक तथा घरपालुवा कुकुरहरूको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको भन्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । स्थानीय सीता लिम्बूले भन्नभो, “सडकमा अनियन्त्रित रूपमा घुम्ने कुकुरहरूका कारण हामी धेरै समस्या भोगिरहेका थियौं । कतिपय कुकुर आक्रामक भई टोक्ने, बच्चाहरूलाई डराउने, राति कराउने जस्ता समस्याहरू थिए। अहिले बन्ध्याकरण अभियानपछि केही सुधार हुने आशा गरेका छौ ।”

यस किसिमका अभियानहरूले दीर्घकालीन रूपमा सडक कुकुरको संख्या नियन्त्रण गर्न, रेविज नियन्त्रण गर्न तथा समुदायलाई सुरक्षित वातावरण उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। अनावश्यक रूपमा कुकुरको संख्या वृद्धि नहुने, रेविज लगायत अन्य संक्रामक रोगहरूको जोखिम कम हुने तथा सडक तथा आवासीय क्षेत्रमा कुकुरबाट उत्पन्न हुने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको भेटेरिनरी अस्पताल ताप्लेजुङले जनाएको छ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo