राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद महोत्सवका रूपमा ताप्लेजुङको मैवाखोला गाउँपालिकामा भव्य रूपमा सञ्चालन भइरहेको छ। यस महोत्सवमा सबैभन्दा ठूलो आकर्षणको केन्द्र ५४ फिट अग्लो सिलाम साक्मा बनेको छ। लिम्बू संस्कृतिमा आधारित यो प्रतिमा प्रतियोगिताको मुख्य आकर्षण बनेको छ, जसले परम्परागत संस्कृतिको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएको छ।
आइतबारदेखि सुरु भएको यो खेल महोत्सव बुधबारसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी विद्यार्थी, खेलाडी, शिक्षक तथा स्थानीयबासीका लागि लिम्बू संस्कृतिको विशेषता झल्काउने गरी यो सिलाम साक्मा प्रतिमा निर्माण गरिएको हो। मूल गेटमै राखिएको यो प्रतिमा धेरैका लागि कौतूहलको विषय बनेको छ। यसलाई अगाडि पारेर तस्बिर खिच्ने, भिडियो बनाउने तथा सामाजिक सञ्जालमा प्रचार गर्नेको लर्को लागेको छ। हाल सामाजिक सञ्जालहरूमा सिलाम साक्मासम्बन्धी पोस्ट तथा भिडियोहरू व्यापक रूपमा भाइरल भइरहेका छन्।
सिलाम साक्मा परम्परागत रूपमा बाँस तथा धागोको प्रयोग गरेर वर्गाकार स्वरूपमा निर्माण गरिन्छ। यस पटक निर्माण गरिएको ५४ फिट अग्लो तथा ५४ फिट नै चौडाइ भएको सिलाम साक्मा विशेष रुपमा तयार पारिएको छ। यसको तौल करिब १५०० किलोग्राम रहेको छ, जसलाई भाटा प्रयोग गरी ठड्याइएको छ। सिलाम साक्मालाई प्रचार-प्रसारका लागि विभिन्न स्थानहरूमा प्रदर्शन गरिँदै आएको छ, तर यति ठूलो र भव्य प्रतिमा पहिलो पटक निर्माण गरिएको हो।
लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो, र ‘साक्मा’ को अर्थ छेक्नु भन्ने बुझिन्छ। अर्थात्, "मृत्युको बाटो छेक्ने" वस्तुको रूपमा सिलाम साक्मालाई लिइन्छ। यो परम्परागत धार्मिक मान्यता अनुसार दिवंगत आत्माको बाटो रोक्ने तथा जीवित व्यक्तिको स्वास्थ्य, सुखसमृद्धि र सकारात्मक ऊर्जा वृद्धि गर्ने विश्वास गरिन्छ। सिलाम साक्मामा नौ वटा रेखी राखिन्छन् भने सेतो, रातो र कालो रंगका धागो अनिवार्य रूपमा प्रयोग गरिन्छ।
हाल सिलाम साक्माको माग बढ्दै गएको छ। परम्परागत रूपमा मात्र सीमित नरहेर विभिन्न महोत्सव, कार्यक्रम तथा विशेष अवसरहरूमा यसको प्रयोग बढ्दो क्रममा छ। विशेषगरी अतिथिलाई स्वागत ब्याजको साटो सिलाम साक्मा प्रदान गर्ने चलन बढिरहेको छ। यसबाट स्थानीय कारीगर तथा व्यवसायीहरूलाई राम्रो आम्दानीसमेत भएको फुङ्लिङ नगरपालिका-४ का सिलाम साक्मा उत्पादक कृष्ण लिम्बू बताउँछन्।
मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार सिलाम साक्माको प्रचारले साँस्कृतिक पहिचान प्रवद्र्धनका साथै पर्यटन क्षेत्रको विकासमा समेत टेवा पु¥याएको छ। लिम्बू समुदायका धार्मिक तथा परम्परागत कर्मकाण्डमा फेदाङ्मा, येबा, साम्बा तथा बिजुवाहरूले विशेष विधिपूर्वक सिलाम साक्मा निर्माण गर्छन्। मुन्धुमअनुसार, यो निर्माण धार्मिक उद्देश्य मात्र नभई व्यक्तिगत कल्याणका लागि समेत महत्वपूर्ण मानिन्छ।
सिलाम साक्माको महत्त्व व्यापक रूपमा फैलिंदै जाँदा यसको व्यावसायिक उत्पादनसमेत बढिरहेको छ। विभिन्न सामुदायिक तथा सांस्कृतिक महोत्सवहरूमा यसको प्रयोग बढ्दै जाँदा स्थानीय हस्तकला व्यवसायलाई समेत प्रवद्र्धन गर्न सहयोग पुगेको छ। यस महोत्सवमा देखाइएको ५४ फिट अग्लो सिलाम साक्माले लिम्बू संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउने आशा गरिएको छ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद महोत्सव न केवल खेलकुदमा केन्द्रित रहेको छ, तर यसले सांस्कृतिक प्रवद्र्धनमा समेत उल्लेखनीय भूमिका खेलेको छ। यसखाले आयोजनाले युवालाई खेलकुदमा मात्र नभई आफ्नै मौलिक परम्परा र संस्कृतिप्रति गर्व गर्न सिकाउने अवसर प्रदान गरेको छ। सिलाम साक्माको भव्य प्रस्तुतीकरणले खेलकुदसँगै संस्कृतिलाई प्रवद्र्धन गर्ने एक नवीन पहलको रूप लिएको छ।