कञ्चनजंघा हिमालको पहिलो सफल आरोहणको ७० वर्ष पुगेको उपलक्ष्यमा 'कञ्चनजंघा प्याटिनम जुब्ली' २०८२ महोत्सवको तयारी तीव्र भइरहेको छ। यही क्रममा महोत्सवका लागि विशेष लोगो र नारा सार्वजनिक गरिएको छ।
सोमबार ताप्लेजुङको फुङलिङमा आयोजित कार्यक्रममा महोत्सव संयोजन समितिले ‘कञ्चनजंघा संरक्षण क्षेत्र, प्रकृतिको उपहार; संरक्षण क्षेत्रमा पर्यापर्यटन, समृद्धिको आधार’ नारासहितको लोगो सार्वजनिक गरेको हो। लोगो सार्वजनिक गर्दै कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष तथा महोत्सव संयोजन समितिका संयोजक छोवाङ शेर्पाले यो महोत्सवले संरक्षण क्षेत्रभित्रका प्राकृतिक सम्पदा, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
वैशाखमा तीनदिने भव्य महोत्सव
महोत्सव आगामी २०८२ साल वैशाख ५–७ गते ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५, लेलेपमा आयोजना हुने छ। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनमा, समृद्ध पहाड परियोजना तथा संरक्षण क्षेत्र कार्यालयसहित विभिन्न संघ–संस्थाको सहकार्यमा महोत्सव सम्पन्न गरिने तयारी छ।
परिषद्का सदस्य सचिव मनकुमार राईका अनुसार कोशी प्रदेश सरकारसँग आर्थिक तथा कार्यक्रमगत साझेदारीका लागि छलफल भइरहेको छ। महोत्सवमा कञ्चनजंघा क्षेत्रमा रहेका पर्यटकीय सम्पदाको प्रचार–प्रसार, पदयात्रा प्रवर्द्धन, स्थानीय संस्कार झल्कने सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र परिकारको प्रवर्द्धन जस्ता गतिविधि समेटिने छन्। त्यस्तै, महोत्सवकै अवसरमा भलिबल प्रतियोगितासमेत आयोजना गरिने छ।
आरोहणकर्ताहरूसँग विशेष सम्मान
लेलेपमा हुने प्रमुख कार्यक्रममा ७० वर्षयताको कञ्चनजंघा आरोहणको ऐतिहासिक यात्रालाई सम्मान गर्दै पहिलो आरोहीहरूको परिवार तथा अन्य आरोहणकर्ताहरूलाई आमन्त्रण गरिनेछ। सफल आरोहीहरूको अनुभव आदान–प्रदानका साथै, कञ्चनजंघा हिमाल आरोहणको ऐतिहासिक र सांस्कृतिक महत्व उजागर गर्ने विशेष छलफल कार्यक्रमसमेत समेटिनेछ।
काठमाडौंमा राष्ट्रियस्तरको कार्यक्रम
महोत्सवका मुख्य कार्यक्रमहरू ताप्लेजुङको लेलेपमा सम्पन्न भएपछि, संघीय राजधानी काठमाडौंमा राष्ट्रियस्तरको विशेष कार्यक्रम आयोजना गरिने योजना अघि सारिएको छ।
कञ्चनजंघा, विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर (८,५८६ मिटर) हो। सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलो पटक यस हिमालको सफल आरोहण गरेका थिए। त्यसयता थुप्रै आरोहीहरूले यो हिमालमा पाइला टेकेका छन्। आगामी महोत्सवले कञ्चनजंघा संरक्षण क्षेत्रको पर्यटन तथा वातावरणीय संरक्षणमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
