लिम्बू संस्कृतिको प्रतीक धान नाच स्तम्भको उद्घाटन(फोटो फिचर)
Phaktanglung Darpan
पौष २५ गते २०८१
10:08 pm
फक्ताङलुङ दर्पण
ताप्लेजुङको सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा लिम्बू जातिको मौलिक संस्कृति झल्कने धान नाच स्तम्भ (ताक्वाचङ या–राक्मा तेन) को उद्घाटन गरिएको छ।
करिब ८० लाख रुपैयाँको लागतमा निर्मित यो स्तम्भ किराँत याक्युङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा निर्माण भएको हो।
स्तम्भको विशेषता नवनिर्मित स्तम्भमा दुई पुरुष र दुई महिलाले धान नाच गरिरहेको दृश्य झल्काइएको छ। साथै, पृष्ठभूमिमा कञ्चनजङ्घा, कुम्भकर्ण हिमाल, र धार्मिक स्थल पाथीभराको आकृति पनि देख्न सकिन्छ।
सांस्कृतिक संरक्षणको प्रयास
धान नाच स्तम्भ निर्माण आधुनिकताको प्रभावले लोपोन्मुख मौलिक संस्कार र संस्कृति जोगाउने उद्देश्यले गरिएको चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङबोले बताउनुभयो। यो संरचना जिल्लाको पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।
धान नाचको सांस्कृतिक महत्व
धान नाच लिम्बू जातिको विवाहजस्ता विशेष क्रियाकलापमा नाचिने प्रमुख नृत्य हो। यसमा युवायुवती तथा सबै उमेरका मानिसले हात समाएर पालाम गाउँदै नाच्ने परम्परा छ। अहिले यो नाच विभिन्न मेला, महोत्सवमा लिम्बूसहित अन्य समुदायले पनि प्रस्तुत गर्न थालेका छन्।
उद्घाटन समारोहमा धान नाचसँगै च्याबुङ नाच (केःलाङ) पनि प्रस्तुत गरिएको थियो। यसले लिम्बू जातिको सांस्कृतिक धरोहरलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।