नेपाल धर्मनिरपेक्ष देश हो । १०४ वर्षको जहानिया राणा सासन र त्यसपछिको पञ्चायति व्यवस्था हुदै संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रको समुल अन्त्यको लागि १० वर्षे महान जनयुद्ध र जनआन्दोलनको मर्म र भावना अनुसार आज नेपाल धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रुपमा स्थापित भएको छ । यसलाई नेपालको संविधान २०७२ मार्फत संरक्षित गरिएको छ । यस्तो अवस्थामा हिजो कुन कस्तो धार्मिक आस्था र व्यवस्था थियो भन्दा पनि आज संविधानले कस्तो व्यवस्था गरेको छ भन्ने कुरा महत्वपुर्ण कुरा हो । नेपाल बहु जाति, बहु भाषी, बहुसंस्कृति भएको देश हो । फरक जात अनुसार रितीरिवाज तथा धार्मिक परम्पराहरु रहेका छन् । बहुजाति भाषा र संस्कृति परम्परा भएको साझा देशमा एकअर्काको अस्तित्वलाई स्वीकार गरि एकअर्काको सम्मान गर्नु नै सबैको हितमा हुनेछ । हाल नेपालमा एक अर्काको धर्म र भाषा तथा संस्कार र संस्कृतिलाई भड्काउने खेलहरु सुरु भएको छ । यसका पछाडि अदृष्य तत्वहरुको हात रहेको हुन सक्छ । यसबाट अरु बाह्य शक्तिले फाइदा लिन खोजिरहेको छ । यसबाट हामी सकेसम्म संयम र सचेत हुनु जरुरी रहेको छ । यसले भोलि हिंसाहरुको पनि सुरुवात गर्न सक्छ । त्यसैले आफ्नो धर्म संस्कारको रक्षा गर्दै अरुको भाषा संस्कृति धर्मलाई पनि सम्मान एकआपसमा सामाजिक सद्भावलाई कायम राखिनु पर्दछ । नेपाल सदियौं समयदेखि एकअर्कामा एकअर्काको अस्तित्वलाई स्वीकार गरि एक भएर बसेको समाज हो । नेपालको कुनाकन्दरामा पनि एउटा सानो गाउँमा एकभन्दा धेरै जातिहरु बसोबास गरेका छन् विभिन्न धर्म र सम्प्रदायका मानिसहरु छन् उनिहरु कहिँ कतै यस्तो धार्मिक समस्या उत्पन्न भएको सुनिएको छैन । यो नेपालीको एक अटल मजबुत सामाजिक सद्भाव हो यसलाई आज आएर विभिन्न बहानामा कसैले कहिँ भड्किन दिनु हुदैन ।