ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कञ्चनजंघा आधार शिविर क्षेत्रमा चौंरी याक प्रदर्शनी गर्ने भएको छ । विश्वको तेस्रो अग्लो हिमालको आधार शिविरमा हुने प्रदर्शनीको उद्देश्य चौंरी याक प्रवद्र्धन तथा संरक्षण गर्न चौंरी याक प्रदर्शनी कार्यक्रम गर्न लागेको हो ।
सिरिजङ्घा महोत्सव को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म चौंरी याक प्रवद्धन तथा प्रदर्शनीको कार्यक्रमको आयोजना गरिने गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोले जानकारी दिनुभयो । समुद्र सतहदेखि ४५०० मिटर उचाइमा हुने प्रदर्शनीमा उत्कृष्ट चौंरी पालकहरूलाई पुरस्कृत गरिनेछ ।
गाउँपालिकाका अनुसार उत्कृष्ट हुने किसानलाई २८ हजार ५८६ रुपैयाँ प्रदान गरिनेछ भने सान्त्वना पुरस्कारस्वरूप ८ हजार ५८६ रुपैयाँ उपलब्ध गराइनेछ । हाल चौंरीपालन प्रति आकर्षण घट्दै गएकाले यसको संरक्षण र महत्त्व उजागर गर्न प्रदर्शनी आयोजना गर्न लागिएको उपाध्यक्ष माबोले बताउनुभयो । चौंरीपालन हिमाली क्षेत्रमा जीवनयापनको मुख्य आधार भएकाले यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा समुदायहरूले प्रमुख आम्दानीको स्रोत भनेकै चौंरी याक गोठ हो । चौंरी याकबाट दुधजन्य पदार्थ जस्तै घ्यु, छुर्पी उत्पादन गरेर बिक्री गरेर कुजारा गर्दै आएका छन् । त्यस्तै याक चीनका विभिन्न बजारमा माग आउने गर्दछ । किसानले चीनमा याक निर्यात गर्नका लागि समेत याक पालन गर्ने गर्दछन् । एउटा याक एक लाख रुपैयाँ भन्दा बढी मूल्यमा चीनमा निर्यात हुने गरेको किसानहरूको भनाइ रहेको छ । गाउँपालिकाले आयोजना गरेको चौंरी याक प्रवद्र्धन तथा प्रदर्शन कार्यक्रमले किसानहरूलाई थप प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।
साहसिक हाफ म्याराथन हुने
गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोका अनुसार सिरिजङ्घा महोत्सव–२०८२ को अवसरमा कञ्चनजंघा सहासिक हाफ म्याराथन प्रतियोगिता पनि आयोजना गरिनेछ । कञ्चनजंघा आधार शिविर क्षेत्रमा समुद्र सतहदेखि ४५०० मिटर उचाइमा प्रतिस्पर्धा गराइने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख आठ हजार ५८६ रुपैयाँ, दोस्रो हुनेलाई एक लाख आठ हजार ५८६ रुपैयाँ तथा तेस्रो हुनेलाई ५८ हजार ५८६ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । कार्यपालिकाको निर्णयअनुसार प्रतियोगिता नयाँ झोरेनी, कस्तुरे डाँडा, झण्डे डाँडा, सिन्दुरे ढुङ्गा, तुप्लुङ, दुण्डु डाँडा, ढाउँ चौक, भेडी चौक हुँदै मछेवा पुग्ने २४ किलोमिटर दूरीमा सञ्चालन गरिने छ ।
गाउँपालिकाले प्रतियोगितासँगै माउन्टेन साइकलिङ कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ। आयोजकका अनुसार हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन, अवलोकन तथा साहसिक पदमार्ग अनुगमनका लागि यो महोत्सव उपयोगी हुने अपेक्षा गरिएको छ ।
ताप्लेजुङको तोक्पोगोला क्षेत्रमा रहेको याकको बथान । तस्बिरः दिलकुमरा लिम्बू÷रासस
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
