असार ३० गते २०८२
12:17: AM
असार ३० गते २०८२
12:17: AM

सिदिङवामा शिक्षा, स्वास्थ्य, खेलकुद र समाजसेवामा योगदान दिनेहरू सम्मानित

फागुन १२ गते २०८१
10:13 am
Author Avatar
फक्ताङलुङ दर्पण

ओमेन्सा राई/सिदिङवा

ताप्लेजुङको सिदिङवा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खेलकुद तथा समाजसेवाका क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। समृद्ध सिदिङवा नागरिक एकता समाज र सिंहेश्वरी माध्यमिक विद्यालय, आंखोपको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका भित्रका शिक्षक, स्वास्थ्यकर्मी, खेलाडी र समाजसेवीहरूलाई सम्मान प्रदान गरिएको हो।

आईतवार सिंहेश्वरी माध्यमिक विद्यालयको प्रांगणमा आयोजित एक विशेष समारोहका बीच विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई नगदसहित सम्मान गरिएको थियो। शिक्षा क्षेत्रमा योगदान पुर्याउने शिक्षक उज्यालमान राई र मेघा लिम्बू (भञ्ज्याङ मावि), स्वास्थ्य क्षेत्रबाट अनमी गुनादेवी राई (मेहेले स्वास्थ्य चौकी) र अहेव रञ्जना लिम्बू (आंखोप स्वास्थ्य चौकी) तथा समाजसेवी रामकुमार राई, टेकबहादुर ताम्लिङ, र महिला खेलकुद क्षेत्रबाट सुमित्रा ताम्लिङलाई सम्मान प्रदान गरियो। सम्मानित प्रत्येक व्यक्तिलाई नगद दुई हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा आधारभूत विद्यालय स्तरको हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो, जसमा नौ वटा विद्यालयहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा सिंहेश्वरी माविले प्रथम स्थान हासिल गर्दै नगद २५ हजार रुपैयाँ, प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गर्‍यो। दोस्रो स्थान हासिल गर्ने सिंहदेवी माविले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्दा तृतीय स्थान हासिल गर्ने निलगिरी माविलाई ५ हजार रुपैयाँसहित प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरियो। साथै, प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयलाई सम्मान पत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सिदिङवा गाउँपालिकाका अध्यक्ष मान बहादुर राई रहेका थिए। उनले सम्मानित व्यक्तित्वहरूको योगदानको उच्च मूल्यांकन गर्दै पालिकाको तर्फबाट निरन्तर साथ, सहयोग रहने प्रतिवद्धता जनाए। उनले आगामी वर्ष कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रस्ताव समेत राखे। वडा अध्यक्ष अम्बर बहादुर लिम्बूले संस्थाले यति स्तरीय कार्यक्रम आयोजना गर्नु प्रशंसनीय रहेको बताउँदै, परिकल्पनाकार केशव राज गौतमसहित सम्पूर्ण टिमलाई धन्यवाद दिए।

कार्यक्रममा शिक्षा शाखा प्रमुख बद्री प्रसाद सिटौला, विभिन्न वडाका वडाध्यक्षहरू, समृद्ध सिदिङवा नागरिक एकता समाजका अध्यक्ष प्रकाश भण्डारी, परिकल्पनाकार केशव राज गौतम तथा विभिन्न विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो। सम्मान कार्यक्रमले शिक्षा, स्वास्थ्य, खेलकुद तथा समाजसेवाको क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको मनोबल अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।

स्थानीय तह र नागरिक समाजको सहकार्यमा यस्ता कार्यक्रमहरू आयोजना गरिनु सकारात्मक संकेत भएको विभिन्न व्यक्तिहरूको भनाइ छ। यसले समाजसेवा, शिक्षा र खेलकुदमा योगदान पुर्याउनेहरूलाई हौसला प्रदान गर्नुका साथै नयाँ पुस्तालाई प्रेरित गर्ने विश्वास गरिएको छ। भविष्यमा यस प्रकारका कार्यक्रमहरू अझ प्रभावकारी बनाउने योजनासमेत आयोजक संस्थाले राखेको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo